आज्ञा खबर
काठमांडौ
निर्वाचन आयोगले प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन आज दिउँसो एकैसाथ सातवटै प्रदेशका प्रदेश प्रमुखसमक्ष बुझाएको छ।
प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम आयोगका प्रमुख निर्वाचन आयुक्त,सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशका सदरमुकामस्थित प्रदेशप्रमुखको कार्यालयमा अलगअलग रूपमा प्रतिवेदन बुझाएको हो।
प्रतिवेदन बुझाउन प्रदेश नं १ मा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, मधेस प्रदेशमा आयुक्त सुगनशमशेर जबरा, गण्डकी प्रदेशमा आयुक्त ईश्वरीप्रसाद पौड्याल, लुम्बिनी प्रदेशमा आयुक्त रामप्रसाद भण्डारी, सुदूरपश्चिम प्रदेशमा आयुक्त डा जानकीकुमारी तुलाधर, बागमती प्रदेशमा सचिव गोकर्णमणि दुवाडी र कर्णाली प्रदेशमा सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा आयोगको टोली पुगेको थियो।
ती टोलीबाट प्रदेशगत निर्वाचनको विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए।





































