आज्ञा सम्वाददाता
पर्सा
अनियमित बत्ती काटिएको भन्दै सोमबार नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रको मूल गेटमा विरोध प्रदर्शन गरेको छ।
अनियमित विना सूचना एक हप्ता अघिदेखि वितरण केन्द्रले झयाप, झयाप बिद्युत काटेका कारण आम जनता मारमा परेको भन्दै विरोध प्रदर्शन गरिएको हो।
बिरोधमा लोकतान्त्रिक समाजवादी पार्टी वीरगञ्ज महानगर अध्यक्ष ओमप्रकाश सरार्फ सहित सर्वसाधार र पार्टीका नेता तथा कार्यकर्ताहरु उपस्थित थिए।
बिहान १० बजेदेखि १२ बजेसम्म गरिएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै लोसपा महानगर अध्यक्ष सर्राफले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरु समेत अनियमित विद्युत कटौतीले आजित भएको बताए।
उनले नेपालले विद्युत बाहिर बेच्ने भनिए पनि आफ्नै देशमा नियमित रुपमा बिद्युत सुचारु गर्न नसकेको आरोप लगाए ‘विद्युत प्राधिकरणले जुन लापरवाही गरी अनावश्यक भोल्टेज अपडाउन गरिरहेको छ,अहिलेको गर्मीमा हाम्रा बच्चाहरु पढ्नबाट वञ्चित हुँदै आएका छन्। यसको जिम्मा विद्युत प्राधिकरणले लिनुपर्छ,’ उनले भने, ‘विना सूचना किन विद्युत कटौती भइरहेको छ, यसको सुनुवाइ हुनुपर्छ। अन्यथा हामी ठूलो आन्दोलनमा पनि जान तयारछौ उनको भनाई छ।
विरोध प्रदर्शनपछि वीरगञ्ज वितरण केन्द्रका प्रमुख जितेन्द्र झालाई भेटेर आन्दोलनकारीले समस्या सम्बोधन गर्न आग्रह गरेका थिए। अनियमित विद्युत कटौतीको समस्यालाई सामाधान गर्ने प्रमुख झाले आश्वासनसमेत दिएका थिए।
केही दिनदेखि पर्सालगायत वीरगञ्ज महानगरमा अनियमित रुपमा विद्युत कटौती हुँदै आएका कारण स्थानीयवासीहरु पीडित हुँदै आएका छन्।





































