वीरगन्ज, जेठ ३० गते।
बारामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।ज्यान जानेमा बाराको सुवर्ण गाउँपालिका ७ सनफुल्वा टोल बस्ने ३५ वर्षीय विरुलाल यादव र भारतको मोतिहारी जिल्ला पूर्वी चम्पारण समरपुर-२ बस्ने ३० वर्षीय मेवा चन्द्र राय यादव छन् ।आइतबार राति साढे १० बजे हुलाकी राजमार्गको बारा महागढीमाई नगरपालिका-८ थलही पुलमा बरियारपुरबाट लंगडाचोकतर्फ जाँदै गरेको प्र.०२-०३-००४प. ७९३४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा परी मोटरसाइकलसहित चालक र पछाडि सवार दुवैजना पुलभन्दा २५ फिट तल खसेर गम्भीर घाइते भएका थिए ।उनीहरूको उपचारको क्रममा कलैया अस्पतालमा सवा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।





































