५० हजार विद्यार्थीले अझैसम्म पनि पाएनन् किताब

[sharethis-inline-buttons]

मुगु, सल्यान —

सल्यान र मुगुका झन्डै ५० हजार विद्यार्थीले अझैसम्म पनि किताब पाएका छैनन् । मुगुका करिब १७ हजार र सल्यानमा झन्डै ३३ हजार विद्यार्थीले अझै किताब नपाएका हुन् । मुगुमा ४ स्थानीय तहका १ सय ४१ वटा सामुदायिक विद्यालयमा करिब १७ हजार विद्यार्थी पाठ्यपुस्तकबाट वञ्चित छन् । विद्यालय खुलेको करिब एक महिना भइसक्दा पनि नयाँ पाठ्यपुस्तक उपलब्ध नहुँदा विद्यार्थीलाई पढ्नै मुस्किल परिरहेको छ ।

कोरोनाले गर्दा ३ वर्षसम्म राम्रोसँग पढ्न नपाएका विद्यार्थी अहिले पढ्ने आशा बोकेर विद्यालय जान थाले पनि पुस्तक नहुँदा पठनपाठन प्रभावित भएको छ । ‘स्कुल खुलेको एक महिना भइसक्यो अझै नयाँ पुस्तक हातमा परेको छैन,’ महाकाली माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत दुर्गादेवी शाहीले भनिन् ।

कुमाख गाउँपालिकाका शिक्षा प्रमुख दीपक चन्दले चैत्रमै पुस्तकका लागि विद्यालयलाई भुक्तानी दिए पनि अहिलेसम्म पुस्तक आउन नसक्नु विद्यालयको पनि कमजोरी रहेको बताए । उनका अनुसार पालिकाभित्र ४८ सामुदायिक विद्यालयमा ६ हजार ७ सय विद्यार्थी भर्ना भए पनि २ हजार ५ सय विद्यार्थीले अझै किताब पाउन नसकेको बताए ।

पाठ्यपुस्तक बिक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष डम्मर केसीले अहिलेसम्म १ करोड २० लाख रुपैयाँको ३८ हजार ८ सय ५५ थान पुस्तक जिल्लामा भित्रिएको जानकारी दिए । उनका अनुसार भित्रिएकामध्ये सबै पुस्तक विद्यालयमा पुग्न सकेको छैन । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लालबहादुर घर्तीले निर्वाचनका कारण जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छाप्न ढिलाइ गरेकाले विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउन नसकेको बताए ।कान्तिपुर

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...