आज्ञा खबर
महोत्तरी
मिथिला क्षेत्रमा नवविवाहित महिलाले मनाउने विशेष सांस्कृतिक पर्व मधुश्रावणी आज विधिपूर्वक समापन हुँदैछ। साउन कृष्ण पञ्चमीदेखि सुरु भएको यो पर्व साउन शुक्ल तृतीयाका दिन समापन गर्ने परम्परा रहँदै आएको छ।
वैवाहिक जीवनमा पति–पत्नीबीच प्रेम, विश्वास र आत्मीयता अझ प्रगाढ होस् भन्ने कामनासहित नवविवाहित महिलाले विवाह भएको पहिलो वर्ष मधुश्रावणी पर्व मनाउने चलन छ। विशेषगरी माइतीमा बसेर मनाइने यस पर्वका लागि श्रीमान्को घरबाट पूजाका सामग्री, नयाँ कपडा, गरगहना तथा पर्व अवधिभर आवश्यक खाद्य सामग्री पठाउने परम्परा रहेको छ।
मधुश्रावणीका क्रममा भगवान् शिव, देवी पार्वती र नागदेवता विषहराको पूजा तथा आराधना गरिन्छ। पर्वका विभिन्न दिनमा नवविवाहित महिलाले आफ्ना सखीहरूसँग सामूहिक रूपमा पूजा गर्ने, गीत गाउने र आपसमा रमाइलो गर्ने गर्दछन्। यस क्रममा गरिने ‘फूललोढी’ विधि पनि पर्वको महत्वपूर्ण आकर्षण मानिन्छ। पूजाका लागि आवश्यक फूल एक दिनअघि साँझ सामूहिक रूपमा टिप्ने परम्परालाई फूललोढी भनिन्छ।
मधुश्रावणीको अर्को चर्चित पक्ष ‘टेमी’ विधि हो। परम्परागत रूपमा पर्वको अन्तिम चरणमा नवविवाहित महिलाको घुँडामा टेमी लगाउने चलन रहेको छ। टेमी लगाइएको स्थानमा फोका उठेमा पति–पत्नीबीचको प्रेम सम्बन्ध अझ गहिरो हुने जनविश्वास रहेको भङ्गाहा–३ की रञ्जु कर्ण बताउँछिन्।
तर पछिल्लो समय नयाँ पुस्ताका महिलामा टेमीको विकल्पका रूपमा चन्दनको लेप प्रयोग गर्ने अभ्यास बढ्दै गएको छ। गौशाला–१२ की शिक्षिका सुनिता महतोले परम्परालाई कायम राख्दै स्वास्थ्य र सहजतालाई ध्यानमा राखेर नयाँ पुस्ताले चन्दन प्रयोग गर्न थालेको बताइन्।
पर्व अवधिभर नवविवाहित महिला र उनका सखीहरूको आकर्षक पहिरन, सामूहिक प्रणयगीत तथा विभिन्न सांस्कृतिक गतिविधिले गाउँ–बस्तीमा छुट्टै रौनक थप्ने गरेको छ। पर्व समापनपछि पूजामा प्रयोग गरिएका बेलपत्र तथा फूल नदी वा पोखरीमा विसर्जन गर्ने परम्परा पनि रहेको छ।
मैथिली भाषा तथा लोकसंस्कृतिका जानकार एवं मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका उपप्राध्यापक मनोज झा ‘मुक्ति’का अनुसार मधुश्रावणीको मुख्य उद्देश्य दाम्पत्य जीवनमा प्रेम र सद्भाव बढाउनुका साथै मैथिली संस्कृति र पारिवारिक सम्बन्धलाई बलियो बनाउनु हो।
पहिले मिथिलाका ब्राह्मण, कायस्थ, देव र सोनार समुदायका महिलाले विशेष रूपमा मनाउँदै आएको मधुश्रावणी पछिल्लो समय जातीय सीमाभन्दा बाहिर फैलिँदै गएको छ। विभिन्न समुदायबीच सांस्कृतिक आदानप्रदान बढेसँगै अन्य समुदायका महिलाले समेत यो पर्व मनाउन थालेका छन्।
जलेश्वर–५ चौरियाका शिक्षक नायडु तिवारीका अनुसार मिथिला क्षेत्रमा विभिन्न भाषा, जाति र समुदायको मिश्रित बसोबास तथा एकअर्काका संस्कृति र पर्वप्रतिको सम्मान बढ्दै जाँदा मधुश्रावणी पनि क्रमशः साझा सांस्कृतिक पर्वका रूपमा स्थापित हुँदै गएको छ।
मधुश्रावणीको निरन्तरताले मिथिलाको मौलिक परम्परा, महिला केन्द्रित सांस्कृतिक अभ्यास र पारिवारिक सद्भावलाई पुस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको स्थानीय जानकारहरूको भनाइ छ।
