आज्ञा खबर
जनकपुरधाम
मधेश प्रदेशमा यस वर्ष मनसुन ढिलो सक्रिय हुँदा धान रोपाइँको गति प्रभावित भएको छ। प्रदेशभर असार मसान्तसम्म कुल धान खेतीयोग्य क्षेत्रफलको करिब ५८ प्रतिशत जमिनमा मात्रै रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयले जनाएको छ।
निर्देशनालयका अनुसार प्रदेशका आठ जिल्लामध्ये सिरहामा सबैभन्दा बढी ८० प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ भने महोत्तरी सबैभन्दा पछाडि रहेको छ। महोत्तरीमा हालसम्म ३९.५९ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको तथ्यांकले देखाएको छ।
कृषि विकास निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले वर्षा अनियमित हुँदा अधिकांश किसानले पर्याप्त पानीको प्रतीक्षा गर्नुपरेको बताए। उनका अनुसार पछिल्ला दिनमा वर्षा बढेपछि रोपाइँको गति केही सुधारिएको छ र बाँकी क्षेत्र पनि छिट्टै पूरा हुने अपेक्षा गरिएको छ।
प्रदेशको तथ्यांकअनुसार सप्तरीमा ६८ हजार हेक्टरमध्ये ३४ हजार हेक्टर, सिरहामा ५४ हजार हेक्टरमध्ये ४३ हजार २०० हेक्टर, धनुषामा ४३ हजार ७०० हेक्टरमध्ये २१ हजार ८५० हेक्टर, महोत्तरीमा ४० हजार हेक्टरमध्ये १५ हजार ८३८ हेक्टर, सर्लाहीमा ४२ हजार ६९५ हेक्टरमध्ये २५ हजार ६१९ हेक्टर, रौतहटमा ३८ हजार ५०० हेक्टरमध्ये २१ हजार १७५ हेक्टर, बारामा ४५ हजार १०० हेक्टरमध्ये २४ हजार ८०५ हेक्टर तथा पर्सामा ५३ हजार ९३८ हेक्टरमध्ये करिब ३५ हजार हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ।
कृषि विज्ञहरूका अनुसार समयमै पर्याप्त वर्षा हुन सके बाँकी क्षेत्रमा पनि छिट्टै रोपाइँ सम्पन्न हुनेछ। रोपाइँ ढिलो भए पनि साउन महिनाभित्र काम पूरा गर्न सकिए उत्पादनमा ठूलो असर नपर्ने उनीहरूको भनाइ छ।
यस वर्ष धेरै किसानले उन्नत जातका धानका बीउ प्रयोग गरेका छन्। साथै रासायनिक मलसँगै प्राङ्गारिक मलको प्रयोग बढाउन थालेको कृषि प्राविधिकहरू बताउँछन्। यसले उत्पादन वृद्धि तथा माटोको उर्वराशक्ति कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यद्यपि केही स्थानीय तहमा अझै पनि मलको सहज आपूर्ति, सिँचाइ सुविधा र समयमै पानी नपर्नु किसानका प्रमुख चुनौतीका रूपमा रहेका छन्। किसानहरूले आवश्यक कृषि सामग्रीको नियमित उपलब्धता र सिँचाइ पूर्वाधार विस्तारमा सरकारले थप ध्यान दिनुपर्ने माग गरेका छन्।
