आज्ञा खबर
काठमाडौं
त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको परिवारले सरकारी पक्षबाट स्पष्ट जिम्मेवारी र सहमति नआएसम्म शव नबुझ्ने अडान दोहोर्याएको छ। यही विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा परिवार र सरकारी प्रतिनिधिबीच शनिबार अबेरसम्म छलफल जारी रहेको छ।
मृतकका भतिजा मन नेपालीका अनुसार विभिन्न विषयमा वार्ता भइरहे पनि अहिलेसम्म कुनै निष्कर्ष निस्किएको छैन। परिवारले घटनामा राज्यका सम्बन्धित निकायले जिम्मेवारी स्वीकार गर्नुपर्ने माग राखेको छ। छलफलमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, नेपाल प्रहरीका अधिकारी तथा गणेशका आमाबुबासहित परिवारका सदस्य सहभागी छन्।
परिवारले शव बुझ्न अस्वीकार गरेपछि वीर अस्पतालले शवलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जको शवगृहमा स्थानान्तरण गरेको छ। वीर अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार अस्पतालमा लामो समयसम्म शव सुरक्षित राख्ने पर्याप्त पूर्वाधार नभएकाले यस्तो निर्णय गरिएको हो। परिवारले शव नबुझेसम्म पोस्टमार्टम र मुचुल्का उठाउने प्रक्रिया अघि बढ्न नसक्ने जनाइएको छ।
यस घटनापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि परिवारसँग सहमति कायम गराउने प्रयास गरिरहेको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले परिवारसँग निरन्तर संवाद भइरहेको र छिट्टै सहमति हुने अपेक्षा व्यक्त गरेका छन्।
यसैबीच काठमाडौं महानगरपालिकाले गणेश नेपालीको परिवारलाई मानवीय सहयोग उपलब्ध गराउने, परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गर्ने तथा उनका सन्तानलाई निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गर्ने जनाएको छ। महानगरका प्रवक्ता नवीन मानन्धरले जारी गरेको विज्ञप्तिमा यस्ता दुःखद घटना दोहोरिन नदिन आवश्यक नीतिगत सुधार र समन्वयका लागि सरकारसँग सहकार्य गरिने उल्लेख छ।
घटनाको सत्यतथ्य पत्ता लगाउन उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार गणेश नेपाली बिहीबार बिहान राहदानी विभाग पुगेका बेला मोटरसाइकल पार्किङको विषयमा नगर प्रहरीसँग विवाद भएको थियो। त्यसपछि मोटरसाइकलमा ह्विल लक लगाइएपछि उनी तनावमा परेका थिए।
प्रहरीका अनुसार दिउँसो करिब १:४५ बजे उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घटनाको क्रममा भएका सबै गतिविधि विभिन्न कोणका सीसीटीभी फुटेजमार्फत अध्ययन भइरहेको छ। नगर प्रहरीका तीन कर्मचारीसँग पनि प्रहरीले सोधपुछ गरिसकेको छ।
घटनापछि घाइते अवस्थाका गणेशलाई प्रहरीले हिँडाएर अस्पतालतर्फ लगेको भिडियो सार्वजनिक भएपछि त्यसको पनि आलोचना भइरहेको छ। छानबिन समितिले घटनाको सम्पूर्ण शृंखला अध्ययन गरी कसको कमजोरी थियो भन्ने विषयमा यथाशीघ्र प्रतिवेदन बुझाउने जनाएको छ।
मुगुको सोरु गाउँपालिका–६, जमलधाराका स्थायी बासिन्दा गणेश नेपाली भक्तपुरको कमलविनायकमा बस्दै आएका थिए। परिवारका अनुसार उनले केही महिनाअघि मात्रै किस्ताबन्दीमा मोटरसाइकल खरिद गरी राइड–सेयरिङ सेवा सञ्चालन गर्दै जीविकोपार्जन गरिरहेका थिए।
उता, काठमाडौंको बुद्धनगरमा शनिबार आफ्नै शरीरमा आगो लगाएका ४५ वर्षीय अश्विन राउतको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सिरहाका स्थायी बासिन्दा राउत निजी उद्योग व्यवसाय सञ्चालन गर्दै आएका थिए। प्रारम्भिक जानकारीअनुसार उनी आफ्नै घरको भान्सामा आगो लगाएर गम्भीर घाइते भएका थिए र वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। प्रहरीले उक्त घटनाको कारणबारे पनि अनुसन्धान जारी राखेको छ।
