आज्ञा खबर
काठमाडौँ
नेपाली राजनीतिलेहाल एउटा नाटकीय मोड दिँदै गृहमन्त्री सुधन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत एक सार्वजनिक घोषणा गर्दै उनले “स्वच्छ सार्वजनिक जीवन“ र “नैतिकता“ को मुद्दा अघि सारेर सरकारबाट बाहिरिने निर्णय गरेका हुन्।
२०८२ चैत १३ गते गृह प्रशासनको कमान्ड सम्हालेका गुरुङको राजीनामा पछाडि मुख्य दुई कारण देखिएका छन आफ्नो नाममा रहेको शेयर विवाद र ’कन्फ्लिक्ट अफ इन्टेरेस्ट’ स्वार्थको द्वन्द्व)।
किन दिए राजीनामा?
गुरुङले आफ्नो राजीनामा पत्र र सामाजिक सञ्जालको सन्देशमा केही गम्भीर बुँदाहरू उल्लेख गरेका छन्ः
निष्पक्ष छानबिनको मागः
आफूमाथि लागेको शेयर सम्बन्धी आरोपहरूमाथि कुनै पनि दबाब वा प्रभाव बिना छानबिन होस् भन्ने उनको मुख्य चाहना रहेको देखिन्छ।
स्वार्थको द्वन्द्व ः
पदमा बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुन सक्ने र त्यसले सुशासनको खिल्ली उडाउने भन्दै उनले पद त्याग्नु नै उत्तम ठानेका छन्।जेनजी आन्दोलनको प्रभावः
देशमा पछिल्लो समय सुशासन र पारदर्शिताको माग गर्दै भइरहेको युवाहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उनले “जनविश्वास नै सबैभन्दा ठूलो शक्ति“ भएको बताएका छन्।
“मेरा ४६ जना भाइ–बहिनीहरूको रगत र बलिदानीको आडमा बनेको सरकारमाथि प्रश्न उठ्नु मेरा लागि सह्य छैन। पदभन्दा नैतिकता ठूलो कुरा हो।“सुधन गुरुङले भनेका छन।
मिडियामाथि कडा टिप्पणी
आफू बाहिरिँदै गर्दा निवर्तमान गृहमन्त्री गुरुङले सञ्चार क्षेत्रमाथि पनि गम्भीर प्रश्न प्रहार गरेका छन्। उनले केही मिडियाकर्मीहरूको पनि विभिन्न ठाउँमा ’स्वीट शेयर’ रहेको दाबी गर्दै ती विवरणहरू क्रमशः सार्वजनिक हुने चेतावनी दिएका छन्। “रामराज्यको खोजी गर्नेहरूले आफैँले पनि त्याग र साहस देखाउनुपर्छ,“ उनले भनेका छन्।
अबको बाटो गुरुङले आफू सत्य र आत्मशुद्धिको बाटोमा उभिएको दाबी गर्दै आम नागरिक र सञ्चारकर्मीलाई पनि सोही बाटो अवलम्बन गर्न अपिल गरेका छन्।





































