निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिकाले नगरभित्रका कृषक महिलालाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउने लक्ष्यसहित महिला कृषक समूहहरूलाई सक्रिय बनाउने अभियानलाई तीव्रता दिएको छ। नगरपालिकाले नगरका १४ वटै वडामा २८ वटा महिला कृषक समूह गठन गरेर कृषि तथा पशुपालनमार्फत आयआर्जनका कार्यक्रम अघि बढाइरहेको जनाएको छ।
आइतबार वडा नम्बर १ मा रहेको सयपत्री महिला कृषक समूहलाई सम्बोधन गर्दै नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले महिलालाई उत्पादन र उद्यमसँग जोडेर आर्थिक रूपमा सक्षम बनाउनु नगरपालिकाको प्राथमिकता रहेको बताए। उनले नगरपालिकाले गठन गरेका महिला कृषक समूहहरूलाई तरकारी खेती, पशुपालन तथा विभिन्न आयआर्जनका गतिविधिमा प्रोत्साहन र सहयोग गर्दै आएको उल्लेख गरे।

नगर प्रमुख क्षेत्रीका अनुसार महिलाहरूलाई समूहमा संगठित गरेर कृषि र पशुपालनमा जोड्दा उनीहरूको आर्थिक स्थिति बलियो बन्नुका साथै परिवार र समाजमा उनीहरूको भूमिका पनि सशक्त बन्दै गएको छ। “कृषि र पशुपालन हाम्रो नगरको सम्भावना हो। महिलाहरूलाई यसमा जोडेर आत्मनिर्भर बनाउनु हाम्रो मुख्य लक्ष्य हो,” उनले भने।
बाख्रा पालन कार्यक्रमको तयारी
यसै क्रममा बर्दिवास नगरपालिका–१ स्थित सयपत्री महिला कृषक समूहको बैठक आइतबार सम्पन्न भएको छ। नगर प्रमुख क्षेत्रीकै अध्यक्षतामा बसेको उक्त बैठकमा समूहमा आबद्ध २४ जना महिलालाई व्यावसायिक बाख्रा पालनमा प्रोत्साहन गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।
बैठकमा सहभागी कृषक महिलालाई प्रति कृषक दुई वटा बाख्रा पाल्नका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ। नगरपालिकाले प्रति बाख्रा १० हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराउने भएको हो। यसरी प्रत्येक कृषकले दुई वटा बाख्रा खरिद गर्दा नगरपालिकाबाट २० हजार रुपैयाँ सहयोग पाउनेछन्।
त्यसैगरी समूहको प्रजनन व्यवस्थापनका लागि ४० हजार रुपैयाँ बराबरको एउटा बोका समेत उपलब्ध गराइने निर्णय गरिएको छ। यसले समूहभित्रै बाख्राको प्रजनन र विस्तारलाई सहज बनाउने अपेक्षा गरिएको छ।
कृषकले आफैँ खरिद गर्ने, नगरपालिकाले अनुदान दिने
नगरपालिका पशु विकास शाखाका अधिकृत मोहन खड्काका अनुसार कृषकहरूले आफूलाई उपयुक्त बाख्रा आफैंले छनोट गरेर खरिद गर्नुपर्नेछ। त्यसपछि नगरपालिकाले प्रति बाख्रा १० हजार रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराउने व्यवस्था मिलाइनेछ।
“कृषकहरूले राम्रो जातको बाख्रा छनोट गर्न सकून् भनेर खरिद प्रक्रिया उनीहरूकै जिम्मामा रहनेछ। तर त्यसको आर्थिक सहयोग नगरपालिकाले प्रदान गर्नेछ,” खड्काले जानकारी दिए।
रोग नियन्त्रण र बीमाको जिम्मा नगरपालिकाको
बाख्रा पालन कार्यक्रमलाई दीर्घकालीन र सुरक्षित बनाउन नगरपालिकाले पशु स्वास्थ्य सम्बन्धी व्यवस्थामा पनि विशेष ध्यान दिएको छ। नगरपालिका कृषि शाखाका अधिकृत साजन दहालका अनुसार बाख्रामा लाग्ने विभिन्न रोगको उपचार, खोप तथा आवश्यक परे जीवन बीमा जस्ता खर्च पनि नगरपालिकाले व्यहोर्ने योजना रहेको छ।
उनका अनुसार यसले कृषकहरूलाई जोखिमबाट जोगाउने र पशुपालनमा आत्मविश्वास बढाउने विश्वास गरिएको छ।
महिला सशक्तिकरणतर्फ अर्को पाइला
स्थानीय महिलाहरूलाई कृषि र पशुपालनमा संगठित गर्दै आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले सुरु गरिएको यो कार्यक्रमलाई नगरपालिकाले महिला सशक्तिकरणको महत्वपूर्ण पहलको रूपमा लिएको छ।
नगरपालिकाको योजना अनुसार यस्ता कार्यक्रमहरूले महिलालाई घरधन्दामात्र होइन, उत्पादन र व्यवसायसँग जोड्दै उनीहरूलाई आर्थिक रूपमा सबल बनाउनेछन्। समूहमा आवद्ध महिलाहरूले बाख्रा पालनलाई व्यवस्थित रूपमा अघि बढाउन सके आगामी दिनमा मासु उत्पादन र आयआर्जनमा समेत उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ।
स्थानीय महिलाहरूले पनि नगरपालिकाको सहयोगले आफूहरूलाई नयाँ अवसर प्राप्त भएको बताएका छन्। उनीहरूका अनुसार सानो लगानीबाट सुरु हुने बाख्रा पालन व्यवसायले भविष्यमा राम्रो आम्दानीको आधार बन्न सक्छ।
यसरी बर्दिवास नगरपालिकाले महिला कृषक समूहमार्फत सञ्चालन गरिरहेको कार्यक्रमले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउनुका साथै महिलालाई आत्मनिर्भर बनाउने दिशामा सकारात्मक सन्देश दिएको स्थानीयवासीहरूको विश्वास छ।
