आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ । बर्दिवास नगरपालिका नगर खेलकुद विकास समिति, बर्दिवासको आयोजनामा उक्त प्रतियोगिता यही मिति २०८२ साल माघ १३ गतेदेखि बर्दिवास नगरपालिकाभित्र सञ्चालन हुने जानकारी गराइएको छ ।
नगर खेलकुद विकास समितिले एक सूचना जारी गर्दै नगरभित्र रहेका सबै सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरूलाई प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ ।
सूचनामा उल्लेख गरिएअनुसार विद्यालयहरूले प्रतियोगितामा सहभागिताका लागि आवश्यक सम्पूर्ण तयारी समयमै पूरा गरी तयारी अवस्थामा रहनुपर्नेछ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चालु शैक्षिक सत्रमा कक्षा १२ सम्म नियमित रूपमा अध्ययनरत तथा १८ वर्षभन्दा कम उमेरका छात्र–छात्राहरू मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ । प्रतियोगिता नगरपालिकाको कार्यविधि तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७० को निर्देशिकाअनुसार सञ्चालन हुने जनाइएको छ ।
खेलकुद विकास समितिले प्रतियोगितामार्फत विद्यार्थीहरूमा खेलकुदप्रति रुचि बढाउने, प्रतिभा पहिचान गर्ने तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने लक्ष्य राखिएको जनाएको छ ।
नगर खेलकुद विकास समितिका अध्यक्ष बोध बहादुर कटुवाल (बलदेव) ले जारी गरेको सूचनामा विद्यालयहरूको सक्रिय सहभागिताले प्रतियोगिता सफल हुने विश्वास व्यक्त गरिएको छ ।





































