आज्ञा खबर
काठमाडौँ
सङ्घीय लोकतान्त्रिक मोर्चाले संविधान दिवसलाई यस वर्ष पनि विरोध स्वरूप मनाउने घोषणा गरेको छ। सोमबार शिवजी यादवको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले असोज ३ गतेलाई “कालो दिन“का रूपमा स्मरण गर्दै सो दिन कालोपट्टी बाँधेर विरोध कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।
मोर्चाले २०७२ साल असोज ३ गते सर्वसम्मत प्रक्रिया विना संविधान थोपारिएको भन्दै त्यसबेलादेखि निरन्तर असन्तोष प्रकट गर्दै आएको छ। बैठकले हाल चलिरहेको जेनजी आन्दोलनलाई समर्थन गर्ने निर्णय पनि गरेको छ। साथै, आन्दोलनले उठाएका मुद्दा सरकारद्वारा सम्बोधन भई विविधता र समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने धारणा राखिएको छ।
मोर्चाले लोकतान्त्रिक अधिकार, सङ्घीयता र गणतन्त्रलाई कमजोर पार्ने कुनै पनि प्रयासलाई अस्वीकार गर्ने चेतावनी दिएको छ।
यस्तै, भाद्र २३ र २४ गते भएको आन्दोलनको क्रममा अराजक समूह प्रवेश गरी विभिन्न राजनीतिक दलका कार्यालय, राष्ट्रपति भवन, न्यायपालिका, व्यवस्थापिका, कार्यपालिका लगायतका संरचना, राजनीतिक नेताका निवास र व्यवसायीका सम्पत्तिमा भएको तोडफोड तथा आगजनी घटनाप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ।
बैठकले त्यस्ता घटनामा संलग्न दोषीलाई छानबिन गरी कडाभन्दा कडा कारबाही गर्न तथा क्षतिग्रस्त सम्पत्तिको क्षतिपूर्ति सुनिश्चित गर्न सरकारसंग माग गर्ने निर्णय पनि गरेको छ।

