आज्ञा खबर
सर्लाही
सर्लाही जिल्लामा नागरिकताजस्तो महत्वपूर्ण सेवा लिन अब मलंगवा धाउनुपर्ने बाध्यता केही सेवाग्राहीकालागि हटेको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीको टोली आज वृद्ध र अशक्त नागरिकको घरमै पुगेर नागरिकता प्रदान गरेको हो।
गोडैता नगरपालिका–५, रामवनका ८१ वर्षीय फरमूद मियाँ र उनकी ७९ वर्षीया श्रीमती ऐसा खातुनलाई नागरिकताको पहिलो प्रतिलिपि हस्तान्तरण गरिएको हो। त्यस्तै, कबिलासी नगरपालिका–७, जमुनियाकी ७३ वर्षीया अशक्त महिला सैरुल खातुन फकिरलाई नागरिकताको दोस्रो प्रतिलिपि दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेल, कम्प्युटर अपरेटर मुकेश यादवसहितको टोली वृद्धवृद्धा र अशक्त नागरिकको घरमै पुगेको थियो। गोडैतामा नगरप्रमुख देवेन्द्र यादव तथा कबिलासीमा नगरप्रमुख ब्रह्मदेव रायलगायतका स्थानीय जनप्रतिनिधिहरू पनि उपस्थित थिए।
सेवाग्राहीको घरमै पुगेर नागरिकता प्रदान गरिएको यो कदमले स्थानीय बासिन्दामा खुशी ल्याएको छ। वृद्धवृद्धा तथा अशक्त व्यक्तिहरूका लागि नागरिकता सेवामा सहजता मिलाउने प्रयासका रुपमा यसलाई लिइएको छ।
