सिन्धुलीको दुधौलीमा विद्यार्थी नेता लागुऔषध कारोबारमा पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
सिन्धुली
सिन्धुलीको दुधौली क्षेत्रमा पछिल्लो समय बढ्दो लागुऔषध कारोबारले समुदायमा चिन्ता थपिरहेको समयमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का एक स्थानीय नेता पक्राउ परेका छन्। यस घटनाले राजनीतिक आवरणभित्र हुने आपराधिक गतिविधि र युवा नेताको संलग्नतामा गम्भीर प्रश्न उठाएको छ।

गत स्ववियु निर्वाचनमा दुधौलीस्थित कमला बहुमुखी क्याम्पसबाट नेविसंघको तर्फबाट सभापति पदका उम्मेदवार रहेका सुशील कपडीलाई प्रहरीले अवैध लागुऔषध ओसारपसार गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। उनिसंगै उदयपुर कटारी नगरपालिका–३ निवासी मनोज कार्की पनि पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता, प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार, सोमबार बिहान प्रहरी चौकी दुधौलीको नेतृत्वमा खटिएको टोलीले कपडीको घरमा छापा मार्दा १३ बोतल प्रतिबन्धित औषधि ‘ओनिरेक्स’ बरामद गरिएको थियो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय डकाहामा राखिएको छ।

पछिल्ला तथ्याङ्क अनुसार दुधौली र वरिपरिका क्षेत्रहरू लागुऔषध ओसारपसारका ‘ट्रान्जिट’ केन्द्रको रूपमा प्रयोग हुँदै आएका छन्। प्रहरी स्रोतले भन्यो, “यसै कारण निगरानी बढाइएको थियो र सोही क्रममा कपडी र कार्की पक्राउ परेका हुन्।”

विद्यार्थी नेता नै लागुऔषध कारोबारमा संलग्न भएको खबरले स्थानीय समुदायमा मात्र नभई राजनीतिक दलमा समेत चर्चा र चिन्ता सिर्जना गरेको छ। यस घटनाले युवा नेतामा नैतिक शिक्षा र संगठनको निगरानीमा ध्यान दिनुपर्ने आवश्यकता देखाएको विश्लेषकहरूले बताएका छन्।

प्रहरीले कपडी र कार्कीमाथि लागुऔषध नियन्त्रण ऐन अनुसार मुद्दा दर्ता गर्ने तयारी गरिरहेको जनाएको छ। यस घटनाले सिन्धुली जिल्लामा लागुऔषधको अवैध कारोबार रोक्न कडा कदम चाल्ने आवश्यकतालाई अझ बलियो बनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...