आज्ञा खबर
सिन्धुली
सिन्धुलीका खेतबारीमा हरियाली फिजिन थालेको छ। साउन महिनाको पहिलो साता सकिँदा जिल्लामा कुल ७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको हो। कृषि विकास कार्यालय सिन्धुलीका अनुसार मौसम, पानीको उपलब्धता र भौगोलिक विविधता अनुसार भदौको पहिलो हप्ता भित्र बाँकी २३ प्रतिशत रोपाइँ पनि सम्पन्न हुने अनुमान गरिएको छ।
कृषि प्रसार अधिकृत उमादेवी श्रेष्ठका अनुसार यो वर्ष रोपाइँले शतप्रतिशत लक्ष्य भेट्ने अपेक्षा गरिएको छ। यद्यपि, गत वर्ष यो आँकडा ९७ प्रतिशतमै सीमित भएको थियो।
भेगअनुसार रोपाइँको गति
जिल्लाभित्रका नौवटा स्थानीय तहहरूमा रोपाइँको प्रगति भिन्न देखिएको छ। साउनको पहिलो सातासम्मको तथ्याङ्क हेर्दा सुनकोशी गाउँपालिका सबैभन्दा अगाडि छ—यहाँ ८७ प्रतिशत रोपाइँ सकिएको छ। त्यसपछि घ्याङ्लेख ९८५५०, कमलामाई ९८५५०, तीनपाटन ९८२५०, गोलन्जोर ९८०५०, मरिण ९७९५०, हरिहरपुरगढी ९७७५० र फिक्कल ९७०५० गाउँपालिकाहरू छन्।
सबैभन्दा पछि परेको छ—दुधौली नगरपालिका, जहाँ हालसम्म ६२ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ।
अनौठो तथ्यस् धेरै उत्पादन हुने ठाउँमै सबैभन्दा कम रोपाइँ
सिन्धुलीको कृषि परिदृश्यमा एउटा विशेषता भनेको दुधौली नगरपालिकाको उच्च धान उत्पादन हो। विडम्बना, यही क्षेत्रमा यसपटक सबैभन्दा कम रोपाइँ भएको छ। कारण स्पष्ट छ—पानीको अभाव। सिँचाइ सुविधाको कमीले गर्दा रोपाइँ समयमै अघि बढ्न सकेको छैन।
दुधौलीसँगै तीनपाटन र मरिण पनि धान उत्पादनमा अगाडि मानिन्छन्। यिनीहरू उर्वर माटो र सिँचाइ सुविधाले सम्पन्न छन्। त्यहीँ गोलन्जोर गाउँपालिका भने जिल्लाभरमै धान उत्पादनमा पछि परेको क्षेत्र हो।
सिँचाइको भर र आकाशे पानीको गुनासो
सिँचाइ सुविधा भएका स्थानहरूमा रोपाइँ छिटो सकिने गरेको छ भने, आकाशे पानीमा भर पर्ने क्षेत्रहरूमा किसानहरू अझै वर्षाको पर्खाइमा छन्। यही पर्खाइले गर्दा भदौसम्म रोपाइँ लम्बिन सक्छ।
धानको जात र खेतीयोग्यता
जिल्लाभर कुल ६९ हजार २५३ हेक्टर खेतीयोग्य जमिन रहेको छ। त्यसमध्ये करिब ११ हजार १८८ हेक्टर जमिन वर्षे धानका लागि उपयुक्त मानिन्छ। यहाँ मकवानपुर–१, रामधान, सावित्री, कतर्नी र विभिन्न हाइब्रिड जातका धानहरू खेती गरिन्छन्।





































