गौशाला मालपोतमा मृतकको नाममा जग्गा खरिदबिक्री, नक्कली कागजातमार्फत करोडौंको चलखेल

[sharethis-inline-buttons]

आज्ञा खबर

महोत्तरी 
महोत्तरीको गौशाला मालपोत कार्यालयमा एक मृतकको नाममा नक्कली कागजात बनाएर जग्गा बिक्री भएको पत्ता लागेको छ। मालपोतका कर्मचारी र भूमाफियाबीचको साँठगाँठमा राज्यलाई राजस्व चुहावट गराउँदै अवैध रूपमा कारोबार गरिएको यो घटना बाहिरिएको हो।

गौशाला नगरपालिका–४ का वडाध्यक्ष रामनारायण महासेठले २०८१ असार ६ गते मृत्यु भइसकेका महेश चौधरी नामक व्यक्तिको नाममा रहेको शिवभक्ति खोर–२ (ख) स्थित कित्ता नम्बर १८३ को ५ आना १२.५ धुर जग्गा बिक्रीको सिफारिस गरेका थिए। कृषि प्रयोजनको लागि वर्गीकृत उक्त जग्गाको सार्वजनिक बाटो समेत नरहे पनि नक्कली कागजातमार्फत असार ८ गते सम्सी गाउँपालिका–४ का रञ्जित कुमार साहको नाममा ११ लाख ३५ हजार रुपैयाँमा नामसारी गरिएको हो।

नियमविपरीत नगद कारोबार

जग्गा कारोबार गर्दा रकम बैंकमार्फत भुक्तानी गरेर भौचर मालपोतमा बुझाउनुपर्ने कानुनी व्यवस्था छ। तर, सो जग्गा कारोबारमा नगद लेनदेन भएको खुलेको छ। त्यसमाथि, विक्रेताको नागरिकता प्रमाणित नगरिएको, पैसा बैंक खातामा जम्मा नगरिएको, झूटा विवरण प्रयोग गरिएको, लेखापढी व्यवसायी र मालपोत कर्मचारीको मिलेमतो देखिएको बताइएको छ।

मृतककै नाममा फिर्ता गरियो नामसारी

गौशाला मालपोतका सूचना अधिकारी विष्णु कुमार महतका अनुसार असार ६, ८ र ९ गते गरी तीन पटक जग्गा बिक्री प्रयास गरिएको थियो। पछि असार १६ गते मालपोत कार्यालयले सबै कारोबार रद्द गरेको छ। खरिदकर्ताको सहयोगमा जग्गा पुनः मृतक महेश चौधरीको नाममा फिर्ता गरिएको हो। विक्रेताको पहिचान खुलेको छैन र उनी फरार रहेको बताइएको छ।

जलेश्वर मालपोतमार्फत पनि प्रयास

महतका अनुसार महेश चौधरीको नाममा रहेको अन्य जग्गा जलेश्वर मालपोत कार्यालयमार्फत बिक्रीको प्रयास भएको थियो। तर खरिदकर्ता र बिक्रेताबीच आर्थिक सहमति नजुटेपछि त्यो नामसारी फिर्ता गरिएको थियो।

यस प्रकरणले मालपोत प्रणालीभित्रको गम्भीर कमजोरी, निगरानीको अभाव र भ्रष्टाचारको गहिरो सञ्जाललाई उजागर गरेको छ। मृतकको नाममा नक्कली कागजात बनाइ जग्गा किनबेच गर्नु आफैमा गम्भीर अपराध हो। यसबारे विस्तृत छानबिन गर्दै दोषीमाथि कडा कारबाहीको माग स्थानीय स्तरमा उठ्न थालेको छ।


  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...