तराई-मधेशमा भूमिगत जल संकट गहिरिँदै, समाधानमा तिनै तहका सरकारको चासो जरुरीः नेता निधि

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम,

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले गर्मी याममा तराई(मधेश क्षेत्रमा देखिँदै आएको भूमिगत जल संकटप्रति गम्भीर चासो व्यक्त गर्दै यस समस्याको समाधानका लागि संघ, प्रदेश र स्थानीय तहले समन्वयमा काम गर्नुपर्ने बताएका छन्।

शनिबार जनकपुरधामस्थित श्री धर्म संस्थाको १२औं वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता निधिले तराई मधेशका २२ जिल्लामा चुरे दोहन र वृक्ष कटानीको असरस्वरूप भूगर्भीय जलस्रोत सुक्दै गएकाले तत्काल पुनर्भरण कार्यक्रमलाई प्राथमिकतामा राख्न आग्रह गरे।

ूगर्मीमा चप्पाकल सुक्ने, पानीको हाहाकार हुने, यस्तो अवस्था आम मानिसको जीवनसँग जोडिएको विषय हो। तिनै तहका सरकार मिलेर दीर्घकालीन योजना बनाउनुको विकल्प छैन,ू नेता निधिले स्पष्ट पारे।

उनले चुरे क्षेत्रको संरक्षण, वृक्षरोपण अभियानको तीव्रता तथा जल पुनर्भरण कार्यक्रमको कार्यान्वयनमार्फत जल संकट नियन्त्रण गर्न सकिने बताए।

त्यस्तै, निधिले रामस्वरुप साह र रामसागर साहद्वारा स्थापना गरिएको श्री धर्म संस्थाले मधेशको शैक्षिक र सामाजिक उत्थानमा पुर्‍याएको योगदानको प्रशंसा गरे। “संस्थागत रूपान्तरणमा यस्ता सामाजिक संस्थाको भूमिका सधैं प्रेरणादायी रहन्छ,” उनले भने।

पर्यटन प्रवर्द्धनको सन्दर्भमा अयोध्याधाम–जनकपुरधाम कनेक्टिभिटीको खाँचो औंल्याउँदै निधिले धार्मिक र सांस्कृतिक सम्पर्कमार्फत भारतबाट ठूलो संख्यामा पर्यटक ल्याउन सकिने विश्वास व्यक्त गरे। यसले नेपालको अर्थतन्त्रमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो।

श्री धर्म संस्थाका सभापति ताराचन्द्र साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ‘कमला बचाऊ अभियान’का संयोजक विक्रम यादवलाई विशेष सम्मान प्रदान गरिएको थियो।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...