अज्ञा खबर
सिन्धुली
सिन्धुलीमा हराउने बालबालिकामध्ये उल्लेखनीय रुपमा बालिकाको संख्या उच्च रहेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/०८२ मा हराएका कुल ५३ बालबालिकामध्ये ८३ प्रतिशत अर्थात् ४४ जना बालिका रहेका छन्।
हराएका मध्ये बाँकी ९ जना बालक रहेका छन्। गत वर्ष (२०८०/०८१) मा पनि यस्तै अवस्था देखिएको थियो। सो वर्ष हराएका ४९ बालबालिकामध्ये ४० जना बालिका र ९ जना बालक रहेका थिए।
प्रहरी कार्यालयका अनुसार ११ महिनाको अवधिमा हराएका सबै बालबालिकाहरूलाई सकुशल फेला पारिएको र उनीहरूलाई आफ्ना परिवारको जिम्मा लगाइएको छ।
किन हराउँछन् बालबालिकाहरू?
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार बालमैत्री वातावरणको अभाव, वैदेशिक रोजगारीका कारण एकल अभिभावकद्वारा सन्तानको पालनपोषण, सामाजिक सञ्जालको अत्यधिक प्रयोग, सानै उमेरमा एकअर्काप्रतिको आकर्षण, र साथीहरूको गलत संगतजस्ता कारणहरूले बालबालिकाहरु विशेषतः बालिकाहरू बढी हराउने गरेका छन्।
हराउने अधिकांश बालबालिकाहरूको उमेर १५ देखि १८ वर्षको समूहमा पर्ने गरेको प्रहरीले जनाएको छ।
महिनावार विवरण हेर्दा…
हराउने घटनाको समयसम्बन्धी विश्लेषण गर्दा जेठ महिनामा सबैभन्दा धेरै ९ जना बालिका हराएका छन्।
महिनावार विवरण यस प्रकार छ:
-
श्रावण: ३ बालिका
-
भाद्र: २ बालक, ३ बालिका
-
कार्तिक: २ बालक, ३ बालिका
-
मंसीर: ३ बालिका
-
पुष: ३ बालिका
-
माघ: १ बालक, ८ बालिका
-
फागुन: १ बालक, ३ बालिका
-
चैत: २ बालक, ६ बालिका
-
बैशाख: ७ बालिका
-
जेठ: ९ बालिका
असोज महिनामा भने एक जना पनि बालबालिका हराएका थिएनन्।
कुन ठाउँबाट कति जना हराए?
स्थानीय तहअनुसार हेर्दा सबैभन्दा धेरै कमलामाई नगरपालिकाबाट ३१ जना बालबालिका हराएका छन्।
अन्य स्थानहरूबाट:
-
दुधौली नगरपालिका: १४ जना
-
सुनकोशी गाउँपालिका: ४ जना
-
हरिहरपुरगढी गाउँपालिका: ३ जना
-
गोलन्जोर गाउँपालिका: १ जना
प्रहरीका अनुसार मरिण, घ्याङ्लेख र फिक्कल गाउँपालिकाबाट भने यस आवमा कुनै पनि बालबालिका हराएको विवरण छैन।
प्रहरीले के गर्दैछ?
बालबालिका हराउने घटनालाई न्यून गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालयले अभिभावकहरूलाई लक्षित गरी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।
प्रहरी उपरीक्षक सुवेदीले अभिभावकहरूलाई सजग र जिम्मेवार बन्न आग्रह गर्दै भन्नुभयो, “आफ्ना छोराछोरीको सुरक्षा र संरक्षणको पहिलो जिम्मेवारी अभिभावकको हो। मोबाइल, साथीको संगत, समाजिक संजालमा बढी समय नदिई उनीहरूसँग आत्मीय सम्बन्ध राख्नु जरुरी छ।”





































