अज्ञा खबर
बर्दिवास, महोत्तरी ।
बर्दिवास नगरपालिका–३ स्थित पर्साईधापका कृषकहरूलाई लक्षित गर्दै शनिबार पाडा वितरण कार्यक्रम सम्पन्न भएको छ। बर्दिवास नगरपालिका पशु सेवा शाखाको आयोजनामा आयोजित कार्यक्रममा बरपिपल कृषक समूहलाई ६० प्रतिशत अनुदानमा २५ वटा पाडा वितरण गरिएको हो।
मासु उत्पादनमा आत्मनिर्भरता बढाउने उद्देश्यले सञ्चालित पाडा प्रवर्द्धन कार्यक्रममा बरपिपल कृषक समूह छनोट गरिएको थियो। कार्यक्रम बर्दिवास–३ पर्साईधापमै सम्पन्न गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले बर्दिवासको भौगोलिक विकटतालाई ध्यानमा राख्दै पशुपालनलाई आत्मनिर्भरता र आयआर्जनको प्रमुख आधार बनाउने लक्ष्य रहेको बताए। उनले भने, “पर्साईधाप जस्ता क्षेत्रहरूमा पशुपालनमार्फत किसानको आर्थिक अवस्था सुधार गर्न यस्तो कार्यक्रम ल्याइएको हो। अब पशुपालनलाई व्यवसायिक र आत्मनिर्भर बनाउनु हाम्रो प्राथमिकता हो।”
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले पनि पाडा प्रवर्द्धन कार्यक्रममार्फत मासु उत्पादनलाई प्रोत्साहन गर्दै पर्साईधापलाई मासु बजारको प्रमुख स्थलको रूपमा विकास गर्न खोजिएको स्पष्ट पारे। उनले भने, “हामीले मासुको लागि पाडा प्रवर्द्धन कार्यक्रमलाई आम्दानीमुखी र रोजगारी सिर्जना गर्ने अभियानको रूपमा अगाडि बढाएका छौं।”
पाडा वितरणपछि बरपिपल कृषक समूहले स्थायी र व्यवसायिक पशुपालनतर्फको पहललाई तीव्रता दिने बताएका छन्। स्थानीय कृषकहरूले पनि यस्ता कार्यक्रमले गाउँमै रोजगारीको अवसर सृजना हुने र मासुजन्य उत्पादनमा आत्मनिर्भर बन्न सकिने बताएका छन्।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पशु सेवा शाखाका प्राविधिक कर्मचारी, कृषक तथा समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो।





































