आज्ञा खबर
सिन्धुली
सिन्धुलीमा मंगलवार दिउँसो भएको कार दुर्घटनामा चार जना यात्रु घाइते भएका छन्। दिउँसो करिब ४ः१५ बजे बीपी राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिका–६ स्थित चैनपुर घुम्ती नजिक दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार, सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेको प्र.२–०२–००१ च ०६२५ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब १ सय ३३ फिट तल खस्दा चार जना घाइते भएका हुन्।
दुर्घटनामा परेर गम्भीर घाइते हुनेमा चितवन भरतपुर महानगरपालिका–३ का २७ वर्षीय भिमराज भट्टराई र धादिङ नीलकण्ठ नगरपालिका–१ की २५ वर्षीया सृजना गुरुङ रहेका छन्। भट्टराईको टाउको र बाँया हातमा चोट लागेको छ भने गुरुङको बाँया घुँडा र छातीमा चोट लागेको प्रहरीले जनाएको छ। दुवै जनाको अवस्था गम्भीर रहेको र उनीहरू बोल्न नसक्ने अवस्थामा रहेको जनाइएको छ।
त्यस्तै, सवारी चालक चितवन भरतपुर–१६ का ३८ वर्षीय दिपक थापा टाउको र बाँया हातमा सामान्य चोटसहित मध्यम अवस्थामा रहेका छन्। भोजपुर नगरपालिका–४ की ३८ वर्षीया सशिकला प्रधान लाई भने बाहिरी चोट नदेखिएको र उनी सामान्य अवस्थामा रहेको प्रहरीले बताएको छ।
घाइतेमध्ये दुई जनालाई आत्मीय सामुदायिक अस्पताल, खाल्टेमा र अन्य दुई जनालाई खुर्कोटस्थित सुनकोशी सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





































