परम्परागत सीपको उज्यालोः मोहनको हातबाट जीवित रह्यो घरेलु हतियार

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
आधुनिक प्रविधिको तेजिलो प्रवाह र बजारको चमक–दमकबीच हराउँदै गएका परम्परागत सीपहरू आज पनि केही गाउँहरूमा जीवित छन्। यस्तै एउटा प्रेरणादायी उदाहरण हुन् महोत्तरीको बर्दिवास नगरपालिका–१,का ५९ वर्षीय मोहन बिश्वकर्मा, जो दशकौँदेखि परम्परागत घरेलु हतियार निर्माणमा लागिपरेका छन्। आधुनिक उपकरणहरूको भीडमा पनि उनको हातबाट बनेका हसियाँ, कोदालो, खुकुरी, बन्चरोजस्ता फलामका सामग्री आज पनि गाउँघरमा मात्र होइन, स्थानीय बजारमा समेत लोकप्रिय बन्दै गएका छन्।

बाल्यकालमै बाबुबाट सिकेको सीप अहिले मोहनको जीवन निर्वाहको मुख्य आधार बनेको छ। विगत १५ वर्षदेखि उनी यस पेसामा निरन्तर सक्रिय छन्। “आजभोलि पुराना सामानको प्रयोग गर्ने चलन घट्दै गएको छ, न त यस्ता सीप सिक्न चाहनेहरू नै देखिन्छन्,” उनी भन्छन्, “तर यही पुरानै सीपले हामी परिवार पालिरहेका छौं।” पाँच जना सदस्य रहेको उनको परिवारको मुख्य आम्दानीको स्रोत यही हतियार निर्माण हो।
बिहान सबेरै उठेर मोहन आफ्नो घर नजिकैको सानो टहराभित्र पुग्छन्, जुन टहरा अब सानो कारखानामा रूपान्तरण भइसकेको छ। ढुंगाले टेको दिइएको हातौडी, पुरानो बेलायती इन्ँधन भट्टी, फलाम तताउने धौकनी, धार दिने औजार लगायतका साधनहरूले भरिएको यो टहरा मोहनको श्रमशालाजस्तै हो। कहिले घाम, कहिले वर्षाको सामना गर्दै उनी दैनिक तीनदेखि पाँचवटा हतियार बनाउने गर्छन्। एक हसियाँ बनाउन झन्डै दुई घण्टा लाग्छ भने कोदालोजस्तो भारी उपकरण बनाउन तीन घण्टा वा सोभन्दा बढी समय लाग्ने उनको अनुभव छ।

“फलाम तताउने, पिट्ने, आकार दिने र धार बनाउने सबै काम म आफैँ गर्छु,” उनी भन्छन्, “छोराले कहिलेकाहीँ सघाउँछ, तर बाँकी सबै काम म एक्लै गर्छु।”

मोहनले बनाएका सामग्रीहरू बर्दिवास आसपासका गाउँहरू जस्तै गौशाला, औरही, लालगढलगायतका क्षेत्रहरूमा बिक्री हुन्छन्। यस्तै, मेलापात र साप्ताहिक हाटबजारहरूमा पनि उनले आफ्ना उत्पादनहरू राख्ने गर्छन्। घरेलु तथा कृषि प्रयोजनका लागि अनिवार्य ठानिने यस्ता सामग्री गाउँका किसानहरूबीच अझै पनि लोकप्रिय छन्।

तर मोहनको यो यात्रामा चुनौतीहरू पनि कम छैनन्। चीन र भारतबाट आयातित सस्ता, चम्किला तर टिकाउ नभएका उपकरणहरूले बजारमा ठूलो प्रतिस्पर्धा सिर्जना गरेका छन्। “हामीले बनाएको हसियाँ ५–६ वर्षसम्म काम लाग्छ, तर बजारमा पाइने चिल्ला सामान दुई महिना पनि टिक्दैनन्,” उनी भन्छन्। यद्यपि, ग्राहकहरू मूल्यतर्फ लोभिनुपर्ने प्रवृत्तिले गर्दा परम्परागत सामाग्रीप्रति आकर्षण घट्दो भएपनि
यस्ता परम्परागत पेसालाई राज्यले संरक्षण गर्नुपर्ने हो तर व्यवहारमा केही नदेखिएको मोहनको गुनासो छ। “सरकारले हस्तकला र लोपोन्मुख सीपको संरक्षण गर्ने भनेर धेरै कुरा गर्छ, तर कुनै ठोस सहयोग पाएको छैन,”उनी भन्छन्, “अहिलेसम्म न त कुनै तालिमको प्रस्ताव आएको छ, न त कच्चा पदार्थ जुटाउन सहयोग नै।”

उनका अनुसार कहिलेकाहीं केही गैरसरकारी संस्था फोटो खिच्न आइपुग्छन्, तर पछि केही पनि गर्दैनन । “हामीलाई सहायता होइन, अवसर चाहिएको छ – बजारमा पुग्ने बाटो, कच्चा सामानको पहुँच, र हाम्रो सीपको उचित मूल्याङ्कन,”उनी भन्छन्।

यसै क्रममा मोहनले आफ्नो सीप नयाँ पुस्तालाई सिकाउने इच्छासमेत व्यक्त गरेका छन्। “सरकार वा कुनै संस्थाले तालिमको व्यवस्थापन गरिदिए म यो सीप अरूलाई सिकाउन तयार छु,” उनी भन्छन्, “नत्र म पछि यो पेसा नै हराउने डर छ।”

मोहनको भनाइ अनुसार, परम्परागत सीपमा आधारित यस्ता पेसाले केवल एक परिवारको भरणपोषण मात्रै होइन, स्थानीय उत्पादन प्रवद्र्धन, आत्मनिर्भता र सांस्कृतिक पहिचानको संरक्षणमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्छ। मधेस र तराईका गाउँहरूमा अझै पनि यस्ता फलामका उपकरणहरू खेतीपातीका लागि अनिवार्य मानिन्छन्।
महोत्तरी बर्दिवासका मोहन बिश्वकर्मा एक व्यक्ति मात्रै होइनन्, उनी लोपोन्मुख हुँदै गएका परम्परागत पेसाहरूको जगेर्नाका प्रतीक हुन्। आधुनिकता र बजार केन्द्रित जीवनशैलीले विस्थापित बनाउँदै लगेका यस्ता सीपहरूलाई राज्य, समाज र सरोकारवाला संस्थाहरूले सम्मान र संरक्षण गर्ने हो भने मात्र हाम्रो मौलिकता र सांस्कृतिक पहिचान सुरक्षित रहन सक्छ।

सरकारी नीति, प्रोत्साहन र स्थानीय सहकार्यको अभावबीच पनि आफ्नै प्रयासमा परम्परालाई जीवन्त राखिरहेका मोहनजस्ता हस्तकर्मीहरू देशको साँचो सम्पत्ति हुन्। यिनको संरक्षण गर्नु केवल एक पेशा जोगाउनु होइन, पुरै पुस्ताको अनुभव र पहिचानलाई बचाउनु हो।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...