बर्दिबासको किसान सहकारीमा आशाको नयाँ बिहानीको सुरुवात

[sharethis-inline-buttons]

आज्ञा खबर

बर्दिवास

महोत्तरीको बर्दिबास नगरपालिकामा अवस्थित किसान बहुमुखी सहकारी संस्था लिमिटेड—जसले करिब २७ वर्षसम्म निष्क्रियता झेल्यो दै आज फेरि एकपटक स्थानीय कृषकहरूको आशा र सम्भावनाको केन्द्रका रूपमा उभिन थालेको छ। समयको धुलोले छोपिएको यो सहकारी अहिले पुनर्जागरणको यात्रामा छ, जसले बर्दिबासका किसानहरूमा नयाँ ऊर्जा र भरोसा भरेको छ।

पुनर्जागरणको शुरुआत

२०३२ सालमा स्थापना भएको सहकारी कहिल्यै सशक्त सामूहिक उत्पादन र बजार व्यवस्थापन र बितिय कारोवारको  माध्यम बन्ने सपना बोकेको थियो। तर समयक्रममा विभिन्न कारणले यसको गतिविधि ठप्पजस्तै भयो। अहिले भने अध्यक्ष भानुभक्त पोखरेलको नेतृत्वमा सहकारी फेरि सक्रिय बन्दै पुनर्जागरणको मुख्य चालक बनेको छ नगरपालिका स्वयं। नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले सहकारीलाई आवश्यक सामग्री—विशेषतः दूध संकलनका लागि क्यान—हस्तान्तरण गर्दै यसको संरचनागत सुदृढीकरणमा टेवा दिएका छन्। त्यति मात्र होइन, नगरपालिकाले पाँच लाख रुपैयाँ बराबरको शेयर सदस्यता लिएर सहकारीप्रति आफ्नो दीर्घकालीन प्रतिबद्धता पनि देखाएको छ।

किसानका लागि नयाँ बाटो

सहकारी अहिले दुई प्रमुख क्षेत्रमा केन्द्रित छ—दूध उत्पादन तथा संकलन र बेसार (हर्दी) खेती। यहाँ हाल दैनिक करिब २०० लिटर दूध संकलन भइरहेको छ, जसलाई आगामी दिनमा १५०० लिटरसम्म पु¥याउने लक्ष्य लिइएको छ।

यसले किसानलाई केवल उत्पादनमै सीमित नराखी बजारसँग जोड्ने काम पनि गरिरहेको छ। प्रमुख प्रशासकीय अधिकृत राममणी अधिकारीका अनुसार अब दूध संकलनमा बिचौलियाको भूमिका हट्दै सहकारीमार्फत नै प्रत्यक्ष संकलन र वितरण हुने व्यवस्था मिलाइएको छ। यसले किसानलाई उचित मूल्य सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

बेसार खेती: सम्भावनाको नयाँ क्षेत्र

बर्दिबासमा बेसार खेतीलाई व्यावसायिक रूप दिने लक्ष्यसहित सहकारीले यस वर्ष ७ बिघामा खेती सुरु गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ भने थप २५ बिघा जमिनमा विस्तार गर्ने योजना बनाइएको छ। किसानलाई आकर्षित गर्न प्रति कठ्ठा २ हजार रुपैयाँका दरले निःब्याजी ऋण उपलब्ध गराइएको छ, जसले साना किसानलाई पनि व्यवसायिक खेतीतर्फ उन्मुख गराउने विश्वास गरिएको छ।

नगरप्रमुख क्षेत्रीले सहकारीमार्फत गरिने बेसार खेतीमा ५० प्रतिशत अनुदान दिने घोषणा गर्दै स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउने जिम्मा पनि नगरपालिकाले लिएको स्पष्ट पारे।

अर्गानिक उत्पादन बजार

कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी महासंघ महोत्तरीका अध्यक्ष गुन्ज बहादुर कार्कीले सहकारीमार्फत अर्गानिक कृषि उत्पादनलाई अभियानकै रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। उनका अनुसार स्थानीय उत्पादनको बजारीकरणमा सहकारीले सेतुको भूमिका खेल्न सक्छ।

पूर्वाधार दीर्घकालीन दृष्टि

नगरपालिकाले कृषिजन्य उत्पादनलाई सहज रूपमा बजारसम्म पुर्‍याउन ४० किलोमिटर सडक र ग्रामीण क्षेत्रमा दुई पुल निर्माण गरिसकेको जनाएको छ। यस्तो पूर्वाधार विकासले उत्पादनदेखि बजारसम्मको दूरी छोट्याउने अपेक्षा गरिएको छ।

आशाको नयाँ कथा

किसान बहुमुखी सहकारीको पुनःसक्रियता केवल एउटा संस्थाको पुनर्जीवन मात्र होइन, यो सामूहिक प्रयास, स्थानीय सरकारको साथ र किसानको मेहनत मिलेर बनेको नयाँ कथा हो।

“सामूहिक लगानी र सहकार्यबाट मात्रै किसानको समृद्धि सम्भव छ,” मेयर क्षेत्रीको यो भनाइ अहिले बर्दिबासका खेत–खलिहानमा व्यावहारिक रूप लिन थालेको छ।

लामो समयको मौनता तोड्दै पुनः सक्रिय बनेको सहकारीले अब स्थानीय किसानहरूलाई एउटै सन्देश दिएको छ—अब उत्पादन मात्र होइन, उचित मूल्य र सम्मानजनक आम्दानी पनि सम्भव छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...