आज्ञा खबर
काठमांडौँ
नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को आसन्न तेस्रो राष्ट्रिय सम्मेलनलाई लक्षित गर्दै नयाँ नेतृत्व चयनको दौड तीव्र बनेको छ। जेठ १७ देखि १९ सम्म काठमाडौंमा हुने सम्मेलनबाट अध्यक्ष पदमा १२ जनाको हाराहारीमा उम्मेदवारीको तयारी भइरहेकाे वाईसीएल स्रोतले जनाएको छ।
हालका अध्यक्ष सुबोध शेर्पालीले पुनः उम्मेदवारी नदिने घोषणा गरेपछि नयाँ नेतृत्वका लागि उपाध्यक्ष, उपमहासचिव र सचिव तहका नेताहरू दौडमा देखिएका छन्।
वाईसीएलका एक पदाधिकारीका अनुसार, महासचिवभन्दा माथिका अधिकांश पदाधिकारीहरू ४० वर्षे उमेरहद पार गरिसकेकाले औपचारिक भूमिकाबाट बाहिरिँदै छन्। यस्तोमा उपाध्यक्ष केहरसिंह कुँवर एकल दाबेदारका रूपमा अध्यक्ष पदमा अग्रपंक्तिमा छन्। उपमहासचिव पुष्प ओलीले पनि नेतृत्वको आकांक्षा सार्वजनिक गरिसकेका छन्।
सचिव तहबाट माधव बस्नेत (रुपन्देही), डम्बर पुलामी ‘कर्मा’ (झापा), र **गणेश शाही ‘विद्रोही’ (कालिकोट)**ले अध्यक्ष पदका लागि दाबी गरेका छन्। पुलामी कोशी प्रदेशका, भने शाही कर्णाली प्रदेशका इन्चार्ज हुन्। अन्य आकांक्षीमा ठाकुर सौराग, नवराज ऐर, शिव बोगटी र प्रेम श्रेष्ठ समेत छन्।
“अहिलेसम्म १२ जनाले अध्यक्ष पदका लागि आकांक्षा देखाइसकेका छन्। तर नेतृत्व चयनमा सहमतिका लागि अन्तिमसम्म प्रयास हुनेछ। सहमति जुटेन भने निर्वाचनमार्फत प्रक्रिया अघि बढ्छ,” ती पदाधिकारीले भने।
सहमतिमा नेतृत्व चयनको चुनौती
वाईसीएल माओवादी केन्द्रको प्रभावशाली सहायक संगठन भएकाले यसकाे नेतृत्व चयनमा पार्टी केन्द्रको समेत चासो हुने गरेको छ। यही कारण सहमतिमा निष्कर्षमा पुग्न कठिनाइ हुने गरेको अर्का एक पदाधिकारीले बताए।
यसअघि अनेरास्ववियु (क्रान्तिकारी) र प्रेस सेन्टर नेपालको नेतृत्व चयनमा पार्टी नेतृत्वले सहमतिको प्रयास गरे पनि सफल हुन सकेको थिएन। ‘क्रान्तिकारी’ मा सहमति नजुट्दा बन्दसत्र सुरु भएको तीन महिना बितिसक्दा पनि नेतृत्व चयन हुन सकेको थिएन।
महासचिव पदमा पनि चासो
अध्यक्षपछिको दोस्रो महत्त्वपूर्ण पद महासचिवका लागि पनि करिब छ जना आकांक्षी देखिएका छन्। तीमध्ये शोभराम भण्डारी (सल्यान), धनकुमार मैनाली (ललितपुर), मुकेश थापा, र हरि ढकाल प्रमुख दाबेदार हुन्।
हाल वाईसीएलमा ३१५ सदस्यीय केन्द्रीय समिति र ६१ जना पदाधिकारी छन्। तर आउँदो सम्मेलनबाट २५१ सदस्यीय केन्द्रीय समिति र ३५ पदाधिकारी बनाउने कार्यविधि पारित भइसकेको छ।
सम्मेलन तयारी अन्तिम चरणमा
सचिव डम्बर पुलामीका अनुसार हालसम्म करिब ५७ जिल्लामा सम्मेलन सम्पन्न भइसकेको छ भने १५ प्रतिशत पालिकामा मात्र सम्मेलन बाँकी रहेको छ। उनका अनुसार एक हप्ताभित्र सबै पालिका, जिल्ला र प्रदेशसम्मको सम्मेलन सम्पन्न हुने लक्ष्य छ।
उपमहासचिव तथा प्रचार विभाग प्रमुख पुष्प ओलीले सम्मेलनमा झन्डै दुई हजार प्रतिनिधिको सहभागिता हुने जानकारी दिए। उनका अनुसार, ७५३ पालिकाबाट एक–एक जना, प्रत्येक जिल्लाबाट सात–सात जना र प्रत्येक प्रदेशबाट १४–१४ जना प्रतिनिधि छनोट हुनेछन्।
“प्रदेश अन्तर्गत विशेष, कर्णाली, लुम्बिनी र गण्डकीमा सम्मेलन सम्पन्न भइसकेको छ। सुदूरपश्चिममा बन्दसत्र जारी छ भने बागमती प्रदेशको सम्मेलन सोमबार हुँदैछ,” ओलीले जानकारी दिए।





































