आज्ञा खबर
काठमाडौं
बागमती प्रदेश सरकारले सवारीसाधन सम्बन्धी सेवा प्रवाहलाई डिजिटल बनाउने उद्देश्यले ब्लुबुकमा क्यूआर कोड प्रणाली लागू गरेको छ। सो प्रणाली लागु भएपछी अब सवारीधनीहरूले सवारी जाँच वा ब्लुबुक नवीकरणजस्ता सेवाका लागि ब्लुबुकको कागजी किताब बोकेर हिँड्नुपर्ने छैन।
प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयअन्तर्गत रहेका यातायात कार्यालयहरूबाट क्यूआर कोड वितरण थालिएको हो। क्यूआर कोडमार्फत सवारीको विवरण सजिलै स्क्यान गरी जाँच गर्न सकिनेछ।
सेवा लिन चाहने सवारीधनीले मन्त्रालयको वेबसाइटमा गई व्यक्तिगत र सवारी विवरण भरेर अनलाइन मिति बुक गर्नु पर्नेछ। बुक गरेको मितिमा नागरिकता र ब्लुबुकको सक्कल प्रति लिएर कार्यालयमा उपस्थित भई प्रमाणिकरण गरेपछि मोबाइलमा क्यूआर कोड प्राप्त गर्न सकिन्छ।
यद्यपि प्रारम्भिक चरणमा प्रविधि हस्तान्तरण ढिलो हुँदा केही समय वितरण प्रक्रिया सुस्त थियो। अहिले भने यातायात कार्यालयले सेवा दिन थालेका छन्।
गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी गोविन्दराज शिवाकोटीका अनुसार सेवा सुरु भए पनि हालसम्म सेवाग्राहीको संख्यामा कमी देखिएको छ। “मिति बुक गरेर पनि कार्यालय नआउने सेवाग्राहीलाई हामी फोन गरेर उपस्थित गराउन थालेका छौँ,“ उनले बताए, “प्रचारप्रसारसँगै सेवाग्राहीको चाप बढ्ने अपेक्षा छ।“
अनलाइनबाट सबै प्रक्रिया पूरा हुन सक्ने अवस्थामा सेवाग्राहीलाई किन अझै कार्यालय धाउनुपर्ने? बारेमा शिवाकोटीले स्पष्ट पारे, “हाललाई ब्लुबुक र सवारीधनीको प्रमाणीकरण गर्न कार्यालय आउनुपर्ने बाध्यता छ। तर प्रविधि स्तरोन्नति हुँदै गएपछि सोझै अनलाइनबाटै सेवा दिने योजना छ।”
राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा (१९ वैशाख) सुरु गरिएको यो डिजिटल सेवा बिस्तारै प्रदेशभर फैलिँदै जाने अपेक्षा गरिएको छ।