आज्ञा खबर
काठमांडौँ
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूले भोगिरहेको पीडा र समस्याप्रति सरकार गम्भीर बनेको बताएका छन्।
आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भण्डारीले नेपाली श्रमिकहरू ‘डेथ ट्र्याप’ (मृत्युसँग जोडिएको जोखिम), ‘डिजिटल ट्र्याप’ (सूचनाको अभाव वा भ्रम), र ‘डेप्थ ट्र्याप’ (ऋणको दलदल) मा फसिरहेको उल्लेख गरे।
उनले वैदेशिक रोजगारीमा गएका श्रमिकहरू परिवार र समाजको उच्च अपेक्षा, चर्को ऋण र कार्यस्थलको दबाबका कारण मानसिक समस्याबाट पीडित हुने र आत्महत्या गर्ने घटनासमेत बढिरहेको बताए। “विशेषगरी ऋणको भारले श्रमिकहरू आर्थिक चक्रव्यूहमा अल्झिन्छन्,” मन्त्री भण्डारीले भने।
उनका अनुसार सरकारले वैदेशिक रोजगारीको नीतिमा सुधार ल्याउने काम अघि बढाइसकेको छ। म्यानपावर कम्पनीहरूलाई कडा नियमनमा ल्याउने र कामदारहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गरिनेछ।





































