सलहेश फूलबारीको संरक्षणमा समिति कडारूपमा उभियो,अम्बेडकर पार्क स्थानान्तरणको माग

[sharethis-inline-buttons]

आज्ञा खबर
सिरहा
ऐतिहासिक र धार्मिक महत्व बोकेको सिरहाको सलहेश फूलबारीको संरक्षणमा सशक्त ढंगले उत्रिएको सलहेश फूलबारी संरक्षण संघर्ष समितिले मधेश सरकारलाई अम्बेडकर पार्क स्थानान्तरण गर्न आग्रह गरेको छ।

लहान नगरपालिका–१२ मा अवस्थित फूलबारी छेउमै निर्माणाधीन डा.भीमराव अम्बेडकर पार्कले स्थानीयको आस्थामा चोट पु¥याउने भन्दै समितिले मुख्यमन्त्री सतिश कुमार सिंहसमक्ष ९ बुँदे मागसहितको ज्ञापनपत्र पेश गरेको हो।

समितिका मधेश प्रदेश संयोजक मोहन पासवानको नेतृत्वमा मधेश भवनमा पुगेको टोलीले उक्त ज्ञापनमार्फत कम्तीमा १० कट्ठा बढी क्षेत्रफल भएको वैकल्पिक स्थानमा पार्क सार्न माग गरेको जनाएको छ।

मधेश सरकारले पासवान समुदायका कुल देवता राजा सलहेशको स्मृति जोडिएको फूलबारीसँगै टाँसिएको १० धुर क्षेत्रफलमा अम्बेडकर पार्क बनाउन ८० लाख रुपैयाँ बजेट विनियोजन गरी निर्माण प्रक्रिया अघि बढाएको थियो। उक्त जग्गा निजी व्यक्तिले दान दिएको बताइएको छ।

वैशाख १५ मा अम्बेडकर पार्कको शिलान्यास मुख्यमन्त्री सिंह र जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संयुक्त रूपमा गरेका थिए। त्यसयता पासवान समुदायले कडा विरोध जनाउँदै संरचना हटाउन माग गर्दै आएको छ।

“अम्बेडकरप्रति उच्च सम्मान, तर स्थान असंवेदनशील“

संघर्ष समितिले डा. भीमराव अम्बेडकरप्रति उच्च सम्मान रहेको स्पष्ट गर्दै भनेको छ, “देशभर अम्बेडकर पार्कको निर्माण स्वागतयोग्य छ, तर सलहेश फूलबारी जस्तो विशिष्ट धार्मिक स्थलमा यस्ता संरचना बनाउनु असान्दर्भिक र भावनात्मक हस्तक्षेप हो।”

ज्ञापनपत्रमा सलहेश फूलबारी, अखडा, मानिक दह, पकडियागढ र महिसोथा गढलाई समेटेर ‘सलहेश सर्किट’ निर्माण गर्नुपर्ने, अतिक्रमित क्षेत्रको नक्सा सहितको सीमांकन गरी सरकारी संरक्षणमा लैजानुपर्ने, तथा ‘सलहेश क्षेत्र संरक्षण विकास कोष’ गठन गर्नुपर्ने माग समेटिएको छ।

समितिले चेतावनी दिंदै भनेको छ —“माग पुरा नभए आन्दोलनमा जान बाध्य हुनेछौं, त्यसबाट सिर्जिने परिणामको सम्पूर्ण जिम्मेवारी सरकारको हुनेछ।”

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...