दुधौलीका मेयरमाथि बलात्कारको आरोप : पक्राउ आदेशपछि दुई हप्ता देखि फरार

आज्ञा खबर
सिन्धुली
सिन्धुलीकोदुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवारमाथि एक किशोरीले बलात्कारको गम्भीर आरोप लगाएपछि जिल्ला अदालत सिन्धुलीले उनिविरुद्ध दुई हप्ताअघि पक्राउ पुर्जी जारी गरेको छ । तर हालसम्म पनि प्रहरी उनलाई पक्राउ गर्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीका अनुसार मेयर अधिकारी फरार रहेका छन् र घटनासम्बन्धी अनुसन्धान सुसूक्ष्म रूपमा अगाडि बढाइएको छ । “हिजोमात्रै यहाँ हाजिर भएको छु, घटनाबारे जानकारी लिइरहेको छु,“ सुवेदीले भने,“पक्राउ पुर्जी जारी भइसकेको छ, मेयर फरार छन्, विभिन्न सम्भावित स्थानमा खोजी भइरहेको छ ।“

पीडित १८ वर्षीया किशोरीले बैशाख ११ गते मेयर अधिकारीविरुद्ध प्रहरीमा जाहेरी दिएकी हुन् । जाहेरी अनुसार, आफू १७ वर्षको हुँदा बिरामी दाजुको उपचार गराइदिने प्रलोभन देखाएर मदिरा सेवन गराई मेयर दनुवारले जबरजस्ती करणी गरेको आरोप लगाएकी छिन् । घटना दुधौलीकै एक क्याफे संलग्न गेस्ट हाउसमा भएको उल्लेख छ । मेयर दनुवारको बलत्कारबाट किशोरीले हालसालै शिशुलाई जन्मसमेत दिएकी छिन् ।

प्रहरी स्रोतका अनुसार जाहेरीपछि प्रारम्भिक अनुसन्धान सुरू गरिएको थियो । प्रमाणका आधारमा अदालतबाट पक्राउ अनुमति लिई दनुवारको खोजी कार्य तीव्र बनाइएको प्रहरी श्रोतको दाबी छ । यद्यपि, अहिलेसम्म मेयर अधिकारीको ठेगाना वा सम्भावित सम्पर्क ठाँउ पत्ता लाग्न सकेको छैन ।

पीडित पक्षले दोषीलाई कानूनको दायरामा ल्याउन माग गर्दै दबाब दिँदै आएका छन् । उनीहरूले मेयरले पदको आडमा उम्किन खोजेको आरोप लगाउँदै प्रहरी प्रशासनसँग सक्रियताको माग गरेका छन् ।

हालसम्म मेयर अधिकारी वा नगरपालिकाको तर्फबाट घटनाबारे कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरिएको छैन । यता प्रहरीले भने अनुसन्धानलाई गम्भीरताका साथ अगाडि बढाइरहेको जनाएको छ । “कसैलाई उम्कन दिइने छैन, कानूनअनुसार कारबाही अगाडि बढ्छ,“ एसपी सुवेदीले बताएका छन् ।

मेयर अधिकारी २०७९ सालको स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को तर्फबाट मेयरमा निर्वाचित भएका थिए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...