आज्ञा खबर
काठमांडौँ
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीको शयनकक्षसम्मै बिचौलियाको पहुँच हुने गरेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सांसदसमेत रहेका थापाले बिचौलियाकै कारण अहिलेको अर्थतन्त्र संकटमापर्दै गईरहेको जिकिर गरे ।
उनले निजी क्षेत्र र बिचौलिया फरक विषय रहेको भन्दै बिचौलियाको पहुँच नेतृत्व तहको शयनकक्षसम्मै पुगेकोले अहिले अर्थतन्त्रमा समस्या भइरहेको बताए ।
“हाम्रो इकोनोमी (अर्थतन्त्र)मा अहिले समस्या भएको भनेको बिचौलियाको कारणले नै हो । म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिनँ । बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो, मलाई अहिलेसम्म थाहा थिएन,“ उनले भने ।
पहिले राष्ट्र बैंकको गभर्नरबारे छलफल हुँदा कौतुहलता हुने गरे पनि अहिले बिचौलियाको मान्छे भनेर खुलारूपमा बहस र छलफल हुने अवस्था आएको थापाको जिकिर छ ।
“पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदै गर्दा गभर्नर यो बन्ला कि त्यो बन्ला कि, गभर्नर यसले बनाउला कि त्यसले बनाउला कि ? भन्ने कुरा हुन्थ्यो । अब अहिले बिचौलियाको क्यान्डिडेट भनेर खुलमखुला बहस हुने, छलफल हुने अवस्था बन्ला कि आउने भनेको हामी कहाँनेर पुग्यौँ ?,“ थापाले भने ।
महामन्त्री थापाले आसेपासेलाई पोस्ने व्यवस्था पुँजीवादी व्यवस्था नै नभएको जिकिर गरे । नागरिक बलियो भएमात्रै राज्य बलियो हुने उनको दाबि रहेको छ ।