सिन्धुलीमा राष्ट्रिय कला महोत्सव सुरु

[sharethis-inline-buttons]

आज्ञा खबर
सिन्धुली
सिन्धुलीमा राष्ट्रिय कला महोत्सव सुरु भएको छ । जिल्लाको कमलामाई नगरपालिका–३ चपौलीमा बिहीबारदेखी शुरु भएको महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले औपचारिक उद्घाटन गरेका हुँन ।

महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले कला र सँस्कृतिलाई विश्वव्यापीरुपमा चिनाउन अग्रसर सिन्धुली कलाघरलाई निर्धक्क भएर अगाडि बढ्नुपर्ने बताएका छन।
उनले कला घरलाई पर्यटकीय स्थलका रुपमा स्थापित गर्न बागमती प्रदेश सरकारको तर्फबाट उचित सहयोग गर्ने प्रतिवद्धता समेत जनाए।

कलालाई आफूले सधैँ सम्पत्तिको रूपमा लिएको बताउँदै मुख्यमन्त्री लामाले कला र सँस्कृतिको विकास र संरक्षणबिना देशको समृद्धि हुननसक्ने ठोकुवा गरे । आउँँदो पुस्तालाई कला र सँस्कृतिको हस्तान्तरणमा कलाघरको महत्वपूर्ण भूमिका रहने बिश्वास ब्यक्त गरे । उद्घाटन कार्यक्रममा विशेषगरि विभिन्न जातजातिहरुको पहिचान झल्कने झाँकीहरु, पञ्चेबाजा र मयुर नृत्यलाई धेरैले आकर्षणको रुपमा लिएका छन् । कार्यक्रममा बोल्ने अतिथिहरुले महोत्सवको आयोजना गर्नु नै पहिलो सफलता भएको बताउँदै यसको थप प्रगति र सफलताको शुभकामना दिएका छन् । साथै आफ्नो तर्फबाट सम्बन्धित सँस्था, व्यक्ति तथा निकायहरुले महोत्सव सफल पार्न सहयोग गर्ने कुरालाई यो वा त्यो बाहानामा पन्छाउन नहुने कुरामा जोड दिएका छन् ।

कला घर सिन्धुलीको आयोजनामा सुरु भएको राष्ट्रिय कला महोत्सव कलाघर निर्माणको महाअभियानमा हातेमालोसंगै मौलिक कला संस्कृतिको प्रवद्र्धन तथा कलाघरको प्रचार प्रचार गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ । कला घरलाई राष्ट्रिय कला संग्रहालयको रुपमा स्थापित गर्ने र कला आश्रमको रुपमा विकास गर्ने उद्देश्य रहेको कलाघरका अध्यक्ष सुमन थापामागरलेजानकारी दिए। सात दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपाली मौलिक परम्परा झल्कने घरहरूको नमूना, मौलिक खानेकुराहरुको परिकारहरू, जातजातिको झाँकी प्रदर्शन, खानाको लागि व्यवस्था, हस्तकला, चित्रकला, मूर्तिकला लगायत कलाहरूको प्रदर्शन गरिने छ ।

विशेषगरि चियादानीको आकारमा रहेको चियाघरमा पकाइएको अर्गानिक चिया र घरजत्रै आकारमा निर्माण गरिएको ठेकीमा राखिएको मोहिको स्वाद पनि महोत्सवको आकर्षण बन्नेछन् । लोक दोहोरी गीत प्रतियोगिता, मौलिक खैँजडी भजनको प्रदर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको गीत संगितको प्रस्तुति, नृत्यहरु, साहित्यिक कार्यक्रम तथा अन्य साँस्कृतिक कार्यक्रमहरु महोत्सवको आकर्षणको रुपमा रहनेछन् ।