आज्ञा खबर
काठमाडौँ
काठमाडौँमा शुक्रबार राजावादीको प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा कस्मेटिकको सामान चोरीगर्ने सिन्धलीको दुइ महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिनपाटन गाउँपालिका ७ लाम्पान्टारकी चित्र माया बस्नेत र तिनपाटन गाउँपालिकाकै सुस्मिता बराल रहेका छन् । उनीहरु हाल कोटेश्वर नरेफाँटमा बस्दै आएका छन् । बस्नेत र बरालको साथबाट लिपस्टिक ६९ थान गाजल २१ थान र ऐना एक थान प्रहरीले फेला पारेको थियो । भाटभटेनीबाट चोरी गरेको कस्मेटिकको सामान सहित दुइ महिलालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । सुपरमार्केट लुटपाट, तोडफोड साथै चोरीको घटनाका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् । सर्वसाधारणले राजधानीमै यस्ता घटनाहरू बढ्दै जानु गम्भीर विषय भएको भन्दै सरकार र प्रशासनको आलोचना गरेका छन् ।
राजावादी प्रदर्शनको क्रममा हजारौं समर्थकहरू सडकमा ओर्लिएका थिए । सोही भीडको मौका छोपी केही व्यक्तिहरूले भाटभटेनी सुपरमार्केटमा जबरजस्ती प्रवेश गरी बियरका बोतलहरू लुटेका, सुरक्षागार्डलाई हातपात गरेका र सम्पत्तिमा क्षति पु¥याएका थिए । प्रहरीका अनुसार केही प्रदर्शनकारीले आगजनीको प्रयास पनि गरेका थिए । भाटभटेनी सुपरमार्केटका सुरक्षागार्डहरूले लुटपाट रोक्न प्रयास गरेका थिए । उनीहरू र लुटेराहरूबीच झडपसमेत भएको थियो । सुरक्षागार्डहरूले केही लुटेराहरूलाई नियन्त्रणमा लिए पनि अधिकांश भाग्न सफल भएका थिए ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारका डीएसपी रमेश पाण्डेका अनुसार पक्राउ परेकाहरूलाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ । “हामीले प्राप्त प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछौं,” उनले भने,घटनाका अन्य संलग्नहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।





































