आज्ञा खबर
सिन्धुली
गत असोजमा आएको बाढीका कारण क्षति पुगेको बीपी राजमार्ग अन्तर्गत सिन्धुली खण्डमा स्थायी निर्माणका लागि ठेक्का आह्वान गरिएको छ ।
सडक डिभिजन खुर्कोट, खाल्टेमार्फत नेपालथोक–बर्खेखोला खण्डको ठेक्का गरिएको हो । सडक विभागका महानिर्देशक रामहरि पोखरेलका अनुसार ३० दिनको समय तोकेर सूचना निकालिएको हो । काभ्रे खण्डको पनि छिट्टै ठेक्का गर्ने गरी तयारी भइरहेको उनले बताए ।
बीपी राजमार्गको स्थायी निर्माण र अस्थायी मर्मतका लागि ८ अर्ब ५० करोड रुपैयाँ माग गरिएको थियो । उक्त राजमार्ग स्थायी रूपमा निर्माण र मर्मत गर्नलाई सडक डिभिजन भक्तपुर र खुर्कोटमार्फत रकम माग गरिएको थियो । यसअनुसार भक्तपुर खण्डमा ७ अर्ब ५० करोड र खुर्कोट खण्डलाई १ अर्ब रुपैयाँको स्रोत सहमति प्राप्त भएको हो । त्यहीअनुसार सिन्धुली खण्डको ठेक्का गरिएको हो ।
काभ्रे भञ्ज्याङ–नेपालथोक खण्डको १२ किलोमिटर सडकमा बाढीपहिरोले बढी क्षति गरेको छ । यसको ८.७ किमि सडक खण्ड रोशी खोलाले बगाएको छ । क्षति भएको सबै खण्ड गरेर २८ किमि सडकलाई चार वटा प्याकेजमा विभाजन गरेर ठेक्का गर्न लागिएको छ । जसमा काभ्रेमा तीन र सिन्धुलीमा एउटा प्याकेज पर्नेछ । सिन्धुली खण्ड साढे २ किलोमिटर रहेको छ ।