प्रभु साहको आरोप- कांग्रेस र एमाले गठबन्धनले मुलुक बर्बाद भयो

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
आम जनता पार्टी (आजपा )का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले
दुई दलिय अनैतिक गठबन्धनले मुलुक बर्बाद हुन लागेको बताएका छन् ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आज (मंगलबार) देखी सुरू भएको आजपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो बताएका हुँन।
उनले कांग्रेस र एमाले गठबन्धनको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरिरहेको आरोप लगाउदै भने,‘विचार, सिद्धान्त केही पनि नमिल्ने कांग्रेस र एमालेले गठबन्धन गरेका छन्। निर्वाचनमा दुई छुटाछुटै गठबन्धन गरेर जनतासँग मत मागेका थिए। अहिले त्यही दुई दलले भ्रष्टाचारीलाई जोगाउनका लागि गठबन्धन गरेका छन्,’ अध्यक्ष साहले भने, ‘दुई दलका दुई नेताको स्वार्थका लागि बनेको यो गठबन्धन नभइ ठगबन्धन हो। भ्रष्टाचारीलाई जोगाउन मिलेका हुन्।’

निर्वाचनमा छुटाछुटै गठबन्धन गरेर जनतासँग मत मागेका कांग्रेस र एमालेले सत्तामा सहकार्य गरेकाले उनीहरूले मत फिर्ता गर्नुपर्ने तर्क साहको छ ।

‘एउटा व्यापारीले पैसा लिएपछि सामान दिन्छ। तर यिनीहरूले जुन कुरा दिन्छु भनेर मत मागे, त्यसको विपरीत काम गरेपछि जनतासँग लिएको मत फिर्ता गर्नुपर्दैन?,’ साहले प्रश्न गरे ।
यो सरकारले दालभात मात्रै खाने गरेको बताएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै साहले भने, ‘यो सरकारले दालभात मात्रै खान्छ भन्नुहुन्छ प्रधानमन्त्रीज्यू!, तर त्यो गिरी बन्धु टि–इस्टेट, वाइडबडी, यती–ओम्नी, भुटानी काण्ड, बालमन्दिर, डेडिकेटेड र ट्रंक लाइनदेखी टेरामक्स लगायतका काण्डै काण्डले सरकार बदनाम छ। यी नेताहरूले दालभात मात्रै खाएका हुन त? दालभात मात्रै खाएर मुलुक कंगाल बनेको हो प्रधानमन्त्रीज्यू? अनि तपाईंहरूले गरेको यस्ता भ्रष्टाचार र अनैतिक कार्यको विरोध गर्ने टुडिखेलका ति सोझा युवा असभ्य भए, अनि के तपाईंहरूले देश लुटिराख्नु भएको छ त्यो सभ्य र संस्कारको काम हो?’

कांग्रेस र एमालेले संविधान संशोधनका लागि दुई दलले गठबन्धन गरेको बताउँदै आएका छन्। आजपा अध्यक्ष साहले आफैले बनाएको संविधान कार्यान्वयन नहुँदै संशोधनको कुरा गर्नुभन्दा पहिला नेपाली जनतासँग माफी माग्नुपर्ने बताए।
‘उत्कृष्ट संविधान बनाएको भन्दै गर्व गर्ने नेताहरूले अहिले आएर संशोधन गर्ने भन्नु भन्दा पहिला माफी माग्नुपर्छ,’ उनले भने।

मुलुकमा सरकारको मनोमानी बढेको बताउँदै उनले कर, महंगीले नेपाली जनता आजित भएको उल्लेख गरे।

‘हरेक वस्तुमा मनलाग्दी कर सरकारले लिइरहेको छ। हरेक वस्तुको महँगी बढ्दै गइरहेको छ। घर चलाउन धौधौ भइरहेको छ।

यसरी मुलुक समृद्ध हुनसक्दैन,’ साहले भने, ‘नेपाली नागरिकता त्यागेर विदेश बसेकाको सम्पत्ति कहाँ छ? कति छ सरकारले भन्नु प¥यो।

आम जनताले नै भ्रष्टाचारीलाई जनकारवाही गर्ने समय आएको उनले बताए।

‘त्यसैले हामीले दलाल दलतन्त्र, लुटतन्त्र, बेथिती, भ्रष्टाचारको विरुद्धमा र आमजनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको उदघोष गरेका छौं,’ उनले भने।

दुई दिनसम्म चल्ने बैठकमा तेस्रो जनआन्दोलनको राणनीति तय गर्ने बारेमा छलफल हुने उनले बताए। श्रोत सेतोपाटी

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...