आज्ञा खबर
नबलपरासी
पछिल्लो समय पश्चिम नवलपरासीको पर्यटकीय स्थलमा पर्यटकको चाप बढेको छ । प्रायः सुनसान रहने यहाँका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।
पाल्हीनन्दन–६ मा अवस्थित प्राचीन नन्दनगर अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । परासी सदरमुकामबाट करिब सात किलोमिटर दक्षिण पाल्हीनन्दनको सनइ गाउँ नजिकै ऐतिहासिक नन्दनगर अवस्थित छ । “सनइ भन्ने गाउँको पश्चिमतर्फ ऐतिहासिक नन्दनगर छ । प्राचीन नन्दनगरसँग प्राचीन कोलिय गणराज्यको इतिहास जोडिएको जानकारहरू बताउँछन”, पाल्हीनन्दन–६ का वडाध्यक्ष क्रिसचन्द्र यादवले भने ।
यस क्षेत्रको संस्कृति संरक्षण र पुनः उत्थान गर्न रामग्राम–१८ मा रहेको पण्डितपुरबाट नन्दनगरसम्म आनन्द जात्रा निकाल्ने योजना रहेको उहाँले बताए । जात्रापछि संस्कृतिका रूपमा नन्दनगर विकसित हुँदै जाने वडाध्यक्ष यादवको विश्वास छ । बौद्धकालीन इतिहाससँग जोडिएका सांस्कृतिक सम्पदाको संरक्षण गर्न जात्रा निकालिने उनले जानकारी दिए ।
ऐतिहासिक नन्दनगरको प्राकृतिक मनोरम दृश्यावलोकन, सडक सञ्जाल विस्तार, आवास तथा भोजनका लागि होमस्टे (घरबास) सञ्चालन भइरहेकाले आन्तरिक पर्यटकको रोजाइमा नन्दनगर पर्न थालेको वडा सदस्य सुनिता सहानीले बताईन । यहाँ पर्यटकको आगमन बढेसँगै स्थानीयको आय पनि क्रमशः वृद्धि भएको उनले जनकारी दिईन । रासस