आज्ञा खबर
उदयपुर
उदयपुर सदरमुकाम गाईघाटमा नगरपालिकाले गरेको ढुंगा, गिट्टी, बालुवाको गुणस्तरहीन र अव्यावहारिक घाटगद्धीको विरोधमा ट्याक्टर ढुवानी व्यवसायी आन्दोलित भएका छन्।
त्रियुगा नगरपालिकाले नदीजन्य पदार्थको उत्खनन तथा बिक्री वितरणका लागि पटक पटक ठेक्का आह्वान गर्दा समेत ठेक्का नलागेपछि एकद्वार प्रणालीमार्फत् एकैठाउमा घाटगद्धी गरी निकासी गर्ने निर्णय गरेपछि व्यवसायी आन्दोलित भएका हुन्।
जिल्लाको सदरमुकाम समेत रहेको गाईघाटमा रहेका सम्पूर्ण व्यवसायी आन्दोलित भएपछि निर्माण कार्य समेत ठप्प भएको छ।
उनीहरुले त्रियुगा नगरपलिकाले आगामि वर्षहरूमा भाद्र महिना भित्रै खोला ठेक्का लगाउने विषयलाई प्राथमिकतामा राखि आवश्यक प्रकृया अगाडि बढाउनुपर्ने, ढुंगा, गिट्टी, बालुवाको गुणस्तरहीन र अव्यावहारिक घाटगद्धी गर्ने गरिएको निर्णय फिर्ता लिनुपर्ने लगायतका माग अघि सारेका छन् ।
नगरले एकै ठाउँमा नदीजन्य पदार्थ घाटगद्धी गरेर सर्वसाधारणलाई समेत खोला पस्न निषेध गरेपछि व्यवसायी आन्दोलित भएका हुन्। नगरपालिकाले भने एकै ठाउँमा घाटगद्धी गरी अमानतमा ढुंगा, गिट्टी, बालुवाको वितरण गर्दा नगरपालिकालाई सहज हुने देखिएकाले यस्तो निर्णय गरेको जनाएको छ।