आर्थिक वर्ष २०७८/०७९ मा १ अर्व ७० करोड ७० लाख ७७ हजार राजस्व उठाउने लक्ष्य पाएकोमा जलेश्वर भन्सार कार्यालयले १८२ प्रतिशत बढीले लक्ष्य हासिल गरी ३ अर्व ९ करोड ३४ लाख ७० हजार ४९५ रुपैयाँ उठाएको थियो ।
चालु आवकाे ९ महिनामा उठाउनुपर्ने राजस्वको लक्ष्य तोकिए पनि आयत/निर्यात व्यापार प्रभावित भएसँगै जलेश्वर भन्सार कार्यालयको राजस्व असुलीमा गिरावट आएको कार्यालयका प्रमुख भन्सार अधिकृत अमित पौडेलले बताए ।
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यको तुलनामा १०८ दशमलव ३१ प्रतिशत प्रगति हासिल गरेको थियाे । साउनमा २२ करोड ४९ लाख ९ हजार राजस्व उठाउने लक्ष्य भएकोमा भन्सार कार्यालयले २४ करोड ३६ लाख २ हजार ५५३ रुपैयाँ राजस्व उठाउएको थियो । सो महिनामा लक्ष्यभन्दा बढी राजस्व उठाए पनि त्यसपछिका महिनाहरूमा भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व उठाउन सकेको छैन ।
सो कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार गत भदौदेखि चैत समान्तसम्म आइपुग्दा क्रमिक रुपमा राजस्व असुलीमा गिरावट देखिएको छ । भदौमा २७ करोड ५५ लाख ७५ हजार राजस्व उठाउने लक्ष्य पाएकोमा ८३ दशमलव ७६ प्रतिशत अर्थात २२ करोड ८३ लाख १ हजार ८९ उठाएको छ ।
असोजमा २८ करोड ५८ लाख ६९ हजार लक्ष्य रहेकोमा ८८.३९ प्रतिशत २५ करोड २६ लाख ७८ हजार २३४, कात्तिकमा ३० करोड ३१ लाख ८२ हजार राजस्व उठाउने लक्ष्य पाएकोमा ७९ प्रतिशत अर्थात २४ करोड ४९ लाख ४१ हजार ६९, मंसिरमा ३१ करोड ४३ लाख ९७ हजार लक्ष्य पाएकोमा ५९.४३ प्रतिशत अर्थात १८ करोड ६८ लाख ४९ हजार ४७७, पुसमा ३३ करोड ७८ लाख २९ हजार लक्ष्य पाएकोमा ५३.४८ प्रतिशत अर्थात १८ करोड ६ लाख ७३ हजार ७६२, माघ महिनामा ३० करोड लक्ष्य पाएकोमा ७४.२० प्रतिशत अर्थात २२ करोड ७५ लाख ७८ हजार २९५, फागुनमा ३१ करोड ६३ लाख ६२ हजार लक्ष्य पाएकोमा ७६.३६ प्रतिशत अर्थात २४ करोड १५ लाख ८१ हजार ६४० तथा चैत महिनमा ३२ करोड ४८ लाख ४८ हजार राजस्व उठाउने लक्ष्य पाएकोमा ७३.३३ प्रतिशत अर्थात २२ करोड ८२ लाख २३ हजार ९२० रुपैयाँ राजस्व उठाएको छ ।
चालु आर्थिक वर्षको ९ महिनामा उठेको कुल राजस्वमध्ये पेट्रोलियम पदार्थ आयातबाट ६० प्रतिशत राजस्व उठेको छ । २०७९ साउनदेखि चैत मसान्तसम्म सो नाकाबाट ४० करोड ५९ लाख ६२ हजार ५६२ बराबरको ६९ लाख ५७ हजार ७९ किलो लिटर पेट्रोलियम पदार्थ आयात भएर आउँदा रु ४८ करोड २३ लाख ३ हजार १४८ रुपैयाँ उठेको छ ।
यस नाकाबाट सबैभन्दा धेरै भारतबाट पेट्रोलियम पदार्थ आयात हुँदा राजस्वकाे मुख्य लक्ष्य पेट्रोलियम पदार्थ आयातमा निर्भर हुने गरेको छ । तर यसवर्ष भारतबाट अनुमानको हिसाबले पेट्रोलियम पदार्थ आयात नहुँदा लक्ष्य प्रभावित भएको सूचना अधिकारी सुमित रौनियारले बताए ।
