आज जानकी जन्म महोत्सव मनाइँदै

आज्ञा खबर

महोत्तरी
मिथिलाकी आदर्श नारी सीताको आजकै दिन मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष झै जनकपुरमा आज पनी जानकी नवमी अर्थात् जानकी जन्म महोत्सव मनाइँदैछ ।
हरेक बर्ष जस्तै आजपनी बिहानैदेखि जानकी मन्दिर , राम मन्दिर र जनक मन्दिर गायतको मन्दिरहरुमा पूजाआजा गर्ने श्रद्धालुहरुको भीड लागेको छ ।

जानकी मन्दिरका सहायक महन्त रामरोशन दास वैष्णवका अनुसार आज मध्यान्ह जानकी मन्दिरमा प्राकट्य महोत्सवको आयोजना गरिएको छ । सो क्रममा बिभिन्न धार्मिक, सांस्कृतिक कार्यक्रमहरु गरिने योजना रहेको छ।
भगवती सीता वैशाखको शुक्ल नवमीको मध्यान्हमा धर्तीबाट प्राकट्य भएको धर्मग्रन्थहरुमा गरिएको वर्णन र जानकी मन्दिरको चलनलाई निरन्तरता दिदै कार्यक्रमहरुको आयोजना गरिदै आएको उनले बताए ।

बेहुली झैं सजाइएको जानकी मन्दिरमा धार्मिक प्रवचनको आयोजना गरिएको छ । दुधमती नदीमा विशेष आरती शुक्रबार गरिएको छ । जानकी नवमीको अवसरमा नगरवासीलाई साँझ दीप प्रज्ज्वलन गर्न जनकपुरधाम उपमहानगरपालिकाले आग्रह गरेको छ ।
मन्दिरमा आयोजना हुने कार्यक्रममा महन्त रामतपेश्वर दास वैष्णव राजा जनकको भूमिकामा रहने छन् ।

मिथिलामा अनिकाल परेको बेला राजा जनकले हलो जोत्न लाग्दा पृथ्वीबाट जानकी प्राकट्य भएको रामायणमा वर्णन गरिएको छ। जनकपुरधामको महत्वबारे वेद, पुराणमा समेत वर्णन गरिएको पाइन्छ । तर रामायणको मुख्य पात्र र स्थलको रुपमा जनकपुरधाम, राजा जनक र जानकीको वर्णन गरिएको छ ।

केही वर्ष पूर्वसम्म परम्परागत रुपमा मनाइने जानकी नवमीलाई विशेष रुपमा मनाउन थालिएपछि जनकपुरधाममा धार्मिक पर्यटकहरुको संख्यामा समेत भारी वृद्धि भएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...