आज्ञा खबर
महोत्तरी
मिथिलाकी आदर्श नारी सीताको आजकै दिन मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष झै जनकपुरमा आज पनी जानकी नवमी अर्थात् जानकी जन्म महोत्सव मनाइँदैछ ।
हरेक बर्ष जस्तै आजपनी बिहानैदेखि जानकी मन्दिर , राम मन्दिर र जनक मन्दिर गायतको मन्दिरहरुमा पूजाआजा गर्ने श्रद्धालुहरुको भीड लागेको छ ।
जानकी मन्दिरका सहायक महन्त रामरोशन दास वैष्णवका अनुसार आज मध्यान्ह जानकी मन्दिरमा प्राकट्य महोत्सवको आयोजना गरिएको छ । सो क्रममा बिभिन्न धार्मिक, सांस्कृतिक कार्यक्रमहरु गरिने योजना रहेको छ।
भगवती सीता वैशाखको शुक्ल नवमीको मध्यान्हमा धर्तीबाट प्राकट्य भएको धर्मग्रन्थहरुमा गरिएको वर्णन र जानकी मन्दिरको चलनलाई निरन्तरता दिदै कार्यक्रमहरुको आयोजना गरिदै आएको उनले बताए ।
बेहुली झैं सजाइएको जानकी मन्दिरमा धार्मिक प्रवचनको आयोजना गरिएको छ । दुधमती नदीमा विशेष आरती शुक्रबार गरिएको छ । जानकी नवमीको अवसरमा नगरवासीलाई साँझ दीप प्रज्ज्वलन गर्न जनकपुरधाम उपमहानगरपालिकाले आग्रह गरेको छ ।
मन्दिरमा आयोजना हुने कार्यक्रममा महन्त रामतपेश्वर दास वैष्णव राजा जनकको भूमिकामा रहने छन् ।
मिथिलामा अनिकाल परेको बेला राजा जनकले हलो जोत्न लाग्दा पृथ्वीबाट जानकी प्राकट्य भएको रामायणमा वर्णन गरिएको छ। जनकपुरधामको महत्वबारे वेद, पुराणमा समेत वर्णन गरिएको पाइन्छ । तर रामायणको मुख्य पात्र र स्थलको रुपमा जनकपुरधाम, राजा जनक र जानकीको वर्णन गरिएको छ ।
केही वर्ष पूर्वसम्म परम्परागत रुपमा मनाइने जानकी नवमीलाई विशेष रुपमा मनाउन थालिएपछि जनकपुरधाममा धार्मिक पर्यटकहरुको संख्यामा समेत भारी वृद्धि भएको छ ।