आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिकामा जग्गाको वर्गीकरणको काम सम्पन्न भएको छ । कित्ताकाट खुलाउने तयारी भएको छ। यो संगै जग्गाको कित्ताकाट खुलाउने काम समेतको बाटो खुलेको बर्दिवास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्रीले जानकारी दिए।
नगरभित्रका १४ बटै बडाको वर्गीकरणको काम सेवा प्रदायक कम्पनी स्मार्ट सिटी विल्डर्सले ११ लाख ६४ हजारमा सम्पन्न गरेको हो ।
सेवा प्रदायक कम्पनीले हस्तान्तरण गरेको उक्त जग्गा वर्गीकरण प्रतिवेदनलाई शुक्रबार बसेको नगरपालिकाको कार्यपालिका बैठकले अनुमोदन गरेको छ।
कार्यपालिकाको निर्णय सहित आइतबार राजपत्रांकितमा प्रकाशित गरेर केन्द्रीय नापी कार्यालयमा पठाउने तयारी रहेको नगरप्रमुख क्षेत्रीले जानकारी दिए।
जग्गा वर्गीकरण गरी कित्ताकाट प्रक्रियामा बर्दिवास नगरपालिका मधेश प्रदेशकै पहिलो पालिका बनेको नगरप्रमुख क्षेत्रीले दाबी गरे।
गत जेठ २७ गते भू–उपयोग ऐन २०७६ र भू–उपयोग नियामवली २०७९ ले व्यवस्था गरे अनुसार नेपाल सरकारको मन्त्रिपरिषदले निर्णय गरी नगरक्षेत्र भित्रको भूमिको भू–उपयोग वर्गीकरण गर्नका लागि पत्राचार गरेको थियो।
प्रक्रिया पूरा हुना साथ तुरुन्त कित्ताकाट गरेर बैंक कर्जा तथा जग्गा किनबेच गर्न सक्ने उनको भनाइ छ। लामो समयदेखि जग्गा वर्गीकरणकै अभावमा कित्ताकाट रोकिएको बेला बर्दिवास नगरपालिकाले जग्गालाई विभिन्न १० क्षेत्रमा वर्गीकरण गरेको छ।
व्यवसायिक क्षेत्र, आवासीय क्षेत्र, कृषि क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, कला संस्कृति तथा पुरातात्विक क्षेत्र, औधोगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी, खोला, ताल तथा सिमसार क्षेत्र र नेपाल सरकारबाट तोकिएको अन्य क्षेत्र गरी नगरभरीको जग्गालाई १० भागमा विभाजन गरिएको नगरप्रमुख क्षेत्रीले बताए।
