मधेश प्रदेशमा श्रोत नखुलेको १ करोड ९२ लाख बरामद, ३३ जना नियन्त्रणमा

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
मधेश प्रदेशका विभिन्न जिल्लाबाट एकवर्षमा विभिन्न १४ वटा घटनाबाट स्रोत नखुलेको रुपैयाँ बरामद भएको छ। प्रदेशमा एक वर्षको अवधिमा स्रोत नखुलेको एक करोड ९२ लाख ६५ हजार ३२० रुपैयाँ बरामद भएको हो ।

सो रकम आर्थिक वर्ष ०७८÷०७९ मा प्रदेशको विभिन्न जिल्लाको विभिन्न स्थानबाट श्रोत नखुलेको रकम बरामद भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता तथा प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।

यसैगरी अवैध वित्तीय कारोबार तथा स्रोत नखुलेको रकम ओसारपसारमा संलग्न ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको पनि कार्कीले बताए । नियन्त्रणमा लिएकामध्ये आरोप ठहर भएका १७ जनामाथि मुद्दा चलाइएको छ ।

बरामद रकम भन्सार कार्यालयमा बुझाइएको छ । नेपाल र भारतको सीमा क्षेत्रमा हुन्डीमार्फत कारोबार हुने गरेकाले स्रोत नखुलेका रुपैयाँ बरामद हुने गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक कार्कीको भनाइ छ ।

सशस्त्र प्रहरी वा अन्य निकायले बरामद गरेको अवैध रकम यसमा समावेश गरिएको छैन । एसपी कार्कीका अनुसार उनीहरुले आफ्नै प्रतिवेदन तयारी गर्ने गरेकाले यसमा समावेश नगरिएको हो ।