मिटरब्याजीबाट ठगिएकालाई सम्पर्कमा आउन प्रहरीको आग्रह

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
सप्तरी
सप्तरी प्रहरीले आज सूचना जारी गरेर मिटरब्याजी सप्तरीका रामदेव साह तेली र उनको परिवारबाट ठगीमा परेका सर्वसाधारणलाई प्रहरीको सम्पर्कमा आउन आग्रह गेरको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक भानु खड्काले आज सूचना जारी गर्दै खड्क नगरपालिका–७ कल्याणपुरका रामदेव, उनकी श्रीमती शिवकुमारी देवी साह, छोरा नन्दकिशोर साह तेली, छोरी रेनुकुमारी साह र अनुराधाकुमारी साहले विभिन्न व्यक्तिलाई ठगी गरेको जाहेरी परेकोमा अनुसन्धान भइरहेको जनाएको छ ।

लिएको ऋण रकमको साँवा ब्याज चुक्ता गर्दासमेत घरजग्गा ,जायजेथा फिर्ता नपाई वा अन्य किसिमले ठगीमा परेको भए आवश्यक प्रमाणसहित आउन सर्वसाधारणमा जिल्ला प्रहरी कार्यालय सप्तरीले आग्रह गरेको हो ।

आरोपितले मालपोत कार्यालयबाट धितोस्वरुप विभिन्न मानिसको घरजग्गा तथा अन्य जायजेथा रजिष्ट्रेशनको लिखत पास गराई चर्को ब्याजमा ऋण लगानी गर्ने र लिएको ऋण रकमको साँवाब्याज चुक्ता गर्दासमेत घरजग्गा समेतको जायजेथा फिर्ता नगरी ठगी गर्ने गरेको प्रहरीद्वारा जारी सूचनामा उल्लेख छ । इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा यसबारे उजुरी दर्ता भई अनुसन्धान भइरहेको छ । अनुसन्धानका क्रममा प्रहरीले नन्दकिशोर र अनुराधालाई पक्राउ गरेको छ ।

मिटरब्याजी साहविरुद्ध गत सोमबार पीडितले राजविराजमा विरोध प्रदर्शन गरेका थिए । नेपाल प्रहरीले नन्दकिशोर र अनुराधालाई पक्राउ गरे पनि मुख्य आरोपित रामदेव, शिवकुमारी, रेणुकुमारी, चन्दनकुमार र धनुषा खरिहानी टोलका कैलाश साहलाई पक्राउ गर्न सकेको छैन ।

छोटो समयका लागि चर्को ब्याज लगाउने र समयमा तिर्न नसके सोहीअनुसार ब्याज बढाउँदै लाने कारोबार तीव्ररुपमा फैलिएको छ । यसरी कारोबार गर्नु जोखिमपूर्ण भएपछि पछिल्लो समय साहुहरूले ऋण चुक्ता गरेपछि फिर्ता गर्ने विश्वासमा पारी ऋणीको जग्गा आफ्नो नाममा रजिष्ट्ररी पास गर्ने, खाली चेक लिएर राख्ने गरेका छन् ।

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...