एमाले-जसपाबीच जिसस पर्साको प्रमुख र उपप्रमुखमा गठबन्धन

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
पर्सा
पदाधिकारी चयनको लागि जिल्ला समन्वय समिति पर्साको शुक्रबार निर्वाचन हुँदैछ।

नेकपा एमाले र जनता समाजवादी पार्टीबीच जिसस पर्साको प्रमुख र उपप्रमुख तथा सदस्यहरुको निर्वाचनकालागी गठबन्धन भएको छ।

प्रमुख उपप्रमुख र सदस्यहरुको भागबण्डा लगाएर एमाले र जसपाले गठबन्धन गरी उम्मेदवारी दिएका छन्।
नेपाली कांग्रेसले भने प्रमुख र उपप्रमुख तथा सदस्यहरुमा एकल उम्मेदवारी दिएको छ।

समन्वय समितिको प्रमुखका लागि जसपाले वीरगञ्ज १५ बाट वडासदस्यमा निर्वाचित निरन्जन साह सोनारलाई उम्मेदवार बनाएको छ।

उपप्रमुखका लागि भने बहुदरमाई नगरपालिकाका पुरन कुर्मीलाई एमालेले अघि सारेको छ।

एमालेले उपप्रमुखसहित ४ सदस्य लिएको छ भने जसपाले प्रमुखसहित ३ सदस्य भागमा पाएको छ।

कांग्रेसले पनि जिसस नेतृत्वका लागि आफ्नो एकल उम्मेदवारी दिएको छ। कांग्रेसले जिराभवानी गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहेका सरोज चौरसियालाई प्रमुखको उम्मेदवार बनाएको छ भने वीरगञ्ज वडा नम्बर ९ की सदस्य कुमारी सोनीलाई उपप्रमुखको उम्मेदवार बनाएको छ।

स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकामा कांग्रेस, जसपा, माओवादी, नेकपा एकीकृत समाजवादीबीच गठबन्ध भएको थियो।

तर उक्त गठबन्धन भने समन्वय समितीको निर्वाचनमा टुटेको छ। पाँच दलिय गठबन्धनका शिर्ष नेताहरुले एमाले बाहेक पाँच दलबीच नै गठबन्धन गर्न निर्देशन दिएपनि पर्सामा त्यसलाई जसपाले नमानेर एमालेसँग गठबन्धन गरेको छ।

जसपा पर्साका अध्यक्ष रामनरेस यादवले भने एमाले सित गठबन्धन नभइ समझदारी भएको बताएका छन्।

पर्सामा रहेको १४ स्थानीय तहमध्ये १२ प्रमुख उपप्रमुख कांग्रेसले जितेको छ। एमालेले १०, जसपाले ५ र लोसपाले १ जना प्रमुख जितेको छ ।