काठमाण्डौँ-
चर्चित सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसी ६ वर्षपछि फिल्म निर्देशनमा फर्किएका छन् । सन् २०१६ मा रिलिज भएको फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’पछि उनले फिल्म ‘सर्वजीत’बाट निर्देशनमा पुनरागमन गर्न लागेका हुन् । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्ल्याप ठोकेर फिल्मको शुभ मुहूर्त गरे ।
दलित महिला केन्द्रले निर्माण गर्न लागेको फिल्म दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनीमा आधारित हुने निर्देशक डिसीले जानकारी दिए । जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसको अवसरमा फिल्मको शुभ मुहूर्त गरिएको हो । पहिला डकुमेन्ट्री बनाउन लागेको भएपनि सर्वजीतको जीवनी थाहा पाएपछि फिचर फिल्म बनाउने निर्णय गरेको डिसीले बताए ।
मेगा आर्ट एण्ड इन्टरटेनमेन्टले निर्माण व्यवस्थापन गर्ने फिल्ममा रणेन्द्र बराईलीको कथा, मोहन निरौलाको संवाद, सौरभ लामाको छायांकन, जनक खड्काको पटकथा, एनबी महर्जनको द्वन्द्व निर्देशन, सौरभ लामाको छायांकन र एलिश कार्कीको पार्श्व संगीत रहनेछ । बाग्लुङ्ग, पाल्पा, पोखरा, काठमाडौं र बनारसमा छायांकन हुने फिल्मको सुटिङ आगामी भदौ अन्तिमबाट सुरु हुनेछ ।
फिल्मका लागि कलाकारहरु भने फाइनल भइसकेका छैनन् । १ करोड २५ लाख रुपैयाँ बजेटमा निर्माण हुने फिल्मको डिजिटल पार्टनर डिएआर मुभिजले खरिद गरेको छ । फिल्मको मुहूर्त कार्यक्रममा उपस्थित भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब फिल्म निर्माणका लागि सहयोग गर्ने घोषणा गरेका छन् ।फिल्मी खबर