दलितको ठाउँमा गैरदलितको उम्मेदवारी परेपछि खारेजी माग गर्दै रौतहटमा निर्वाचन कार्यालयमा ताला

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
रौतहट
रौतहटमा कार्यपालिका सदस्यको चुनावमा दलित र अल्पसंख्यकको स्थानमा गैरदलित र गैरअल्पसंख्यकको उम्मेद्वारी परेको भन्दै नगर निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको छ ।

रौतहटको गुजरा नगरपालिकाको नगर कार्यपालिका सदस्यको लागि हुन गईरहेको निर्वाचनमा दलितको स्थानमा गैरदलित आरिफ मियां दर्जी र अल्पसंख्यकमा विजय साह बनियाको उम्मेदवारी निर्वाचन कार्यालयले दर्ता गरेपछि विवाद भएको हो ।

नगर पालिका र इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरले मुस्लिम समुदायका दर्जीलाई दलित प्रमाणित गरेपछि उनले सोही प्रमाणित पत्रको आधारमा कार्यपालिकाको निर्वाचनमा उम्मेदवारी दिएका थिए ।

गैरदलितलाई कानुन विपरित दलित प्रमाणित गरेर उम्मेदवारी दिएको भन्दै नेकपा एमाले लगायतका दलहरुले दावी बिरोधको उजुरी दिएका थिए ।

दावी बिरोध उपर शुक्रबार ४ बजेसम्म निर्णय गर्ने तालिका भएपनि शनिबार मध्यान्हसम्म पनि निर्णय नगरेको र कार्यालयमा निर्वाचन अधिकृत तथा कर्मचारी कोही नआएकाले तालाबन्दी गरिएको नेकपा एमालेका नेता लालबाबु मंसुरीले बताए ।

उनले पहिलो नजरमै खारेज हुनुपर्ने उम्मेदवारी निर्वाचन अधिकृत बद्री नारायण शर्माले आलटाल गरेकाले षड्यन्त्रको गन्ध महशुस गरेर दवाव दिन तालाबन्दी गरेको उनको भनाइ छ ।

निर्वाचन आयोगले गैरकानुनी रुपमा प्रमाणित गरिएका गैरदलित र गैर अल्पसंख्यको उम्मेदवारी तत्काल खारेज गरेर अन्तिम नामावली प्रकाशन गरिनुपर्ने नेकपा एमाले नेता तथा गुजरा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष गजेन्द्र कुमार चौधरीको माग छ ।

जनता समाजवादी पार्टीबाट निर्वाचित नगर प्रमुख सन्तलाल चौधरीको ईसारामा जसपाकै कार्यपालिका उमेदवारको रूपमा आरिफ मियां दर्जी र नेपाली कांग्रेसबाट विजय साह बनियाको उम्मेद्बारी दर्ता गरिएको एमाले मेयर प्रत्याशी शेख एकरामुल हकको आरोप छ ।

उनले गैरकानुनी प्रमाणित उम्मेदवारी खारेज नगरे कडा संघर्षमा उत्रने चेतावनी दिएका छन् ।

नगर कार्यपालिकाको सदस्य पदमा उम्मेदवारी दिएका दर्जी र साह दुबै वडाध्यमा पराजित भएका थिए ।

त्यसैगरी अल्पसंख्यक बाट उम्मेदवारी दिएका असगर अलि अन्सारी विरुद्ध पनि निर्वाचन कार्यालयमा दावी बिरोधको निवेदन दर्ता भएको छ ।