जनकपुर-
मधेस प्रदेशको प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका संसदीय दलका नेता जितेन्द्र सोनलले न्यायपालिका मधेस प्रदेशको हितैषी नरहेको टिप्पणी गरेका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा सोनलले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका स्वतन्त्र हुनुपर्ने भनिरहँदा न्यायपालिका भने मधेस प्रदेशको कहिल्यै पनि हितैषी नरहेको बताएका हुन् ।
लोसपा नेपाल मधेस प्रदेशका अध्यक्ष समेत रहेका पूर्वमन्त्री सोनलले भने, ‘न्यायपालिका हाम्रो हितैषी होइन्, यसका दर्जनौँ उदाहरणहरु छन् । यसअघिका सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याएपनि सर्वोच्चमा मुद्दा पर्यो । सर्वोच्च अदालतले सबै अध्यादेशलाई जीवित राखे पनि नागरिकता सम्बन्धी अध्यादेशलाई खारेज गर्यो ।

सर्वोच्च अदालतमा कयौँ अध्यादेशमाथि मुद्दा चल्दा केही बोलेन, तर केपी ओलीजीले ल्याउनु भएको नागरिकता सम्बन्धी अध्यादेश खारेज गर्यो ।’उनले मधेसको विकासमा पनि अदालत बाधक बनेको बताउँदै उनले भने, ‘यस प्रदेशको सबैभन्दा महत्त्वपूर्ण परियोजना मध्येको एक निजगढ अन्तर्राष्ट्रिय विमानस्थल थियो ।
तर अदालतले यसको पर्यावरणलाई टेकेर विपक्षमा निर्णय दिइहाल्यो ।’उनले अघि थप्दै भने, ‘निजगढ विमान स्थलबाट मधेसका जनताको समृद्धि, आर्थिक विकास जोडिएको र एउटा प्रदेशमा एउटा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गरिए हजारौँ हजारको सङ्ख्यामा बेरोजगारी न्यूनीकरण हुने र यहाँका व्यक्तिको जीवनमा परिवर्तन हुन्छ ।’
तर सर्वोच्च अदालतले त्यसको विपरीतमा आदेश दिएको उनले स्मरण गरे । सोनलले निजगढमा अन्तर्राष्ट्रिय विमान स्थल बनाउनुपर्ने र यसका लागि सङ्कल्प प्रस्ताव अथवा विशेष प्रस्ताव पेस गर्न आग्रह समेत गरे ।रातो पाटी





































