आज्ञा खबर
गौशाला, जेठ १८ गते । सुनसरीको इटहरीबाट गएको वैशाख ३० गतेदेखि बेपत्ता भएकी इटहरी–१५ की १६ वर्षीया अस्मिता चौधरीको अझै घर फर्किएकी छैनन् ।
बेपत्ता किशोरीका बुवा पशुपति चौधरीका अनुसार काका लालुले अस्मितालाई झारफुक गर्ने झाँक्रीसँग फुलपाती सेलाउन कोशी नदीमा लिएर गएदेखि उनी घर फर्किएकी छैनन् ।‘काका लालु र विराटनगर घर भएका धामी दिनेश मण्डलले मोटरसाइकलमा राखेर अस्मितालाई झारफुक गरेको पाती सेलाउन भन्दै कोशी नदिमा लिएर गएका हुन् । त्यो दिनदेखि छोरी घर फर्केकी छैन,’ बुवा पशुपतिले भने।
यता, प्रहरीले किशोरीलाई बेपत्ता बनाएको आरोपमा उनका काका लालु चौधरीसहित दुईजना पक्राउ गरेको छ । कोशी नदीमा लैजाने भनिएपनि काका लालु र झाँक्री दिनेशले अस्मितालाई विराटनगरको सनी मन्दिर पुर्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अस्मिता बेपत्ता हुनुमा झाँक्री काम गर्ने दिनेशकै मुख्य हात रहेको दाबी अभिभावकको छ।
जेठ २ गते किशोरीका अभिभावकले इलाका प्रहरी कार्यालय पकलीमा मानव अपहरण तथा शरीर बन्धक आरोपमा दुई जनाविरुद्ध जाहेरी दिएका छन्।
प्रहरीले त्यतिबेलै काका लालु र सनी मण्डल नाम गरेका अर्का एक व्यक्तिलाई पक्राउ गरेको थियो। झाँक्री दिनेश भने अझै फरार रहेको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक रविन्द्र थापाले जानकारी दिए। विराटनगरस्थित शनी मन्दिर नजिक रहेको दिनेशको बहिनीको घरमा अस्मिताको पाउजु फेला परेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक थापाले बताए।