‘कबड्डी ४’को कीर्तिमानी कमाई

[sharethis-inline-buttons]

बर्दिवास-

शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ले घरेलु बक्सअफिसमा सुनामी ल्याएको छ । मल्टीप्लेक्समा सर्वाधिक शोज पाउँदै प्रदर्शन अगावै ठूलो रेकर्ड बनाएको फिल्मले दुई दिनमा कीर्तिमानी कमाई गरेको छ । शुक्रवार र शनिवार जताततै हाउसफुलको व्यापार गरेको फिल्मले दुई दिनमा ६ करोडको आँकडा छोएको वितरक मनोज राठीले जानकारी दिए ।

उनले भने, ‘फिल्मको दुई दिने कमाई ६ करोड पुगेको छ । यो कीर्तिमानी कमाई हो । आजसम्म कुनै नेपाली फिल्मले यो अंक जोडेको रेकर्ड छैन । शुक्रवार र शनिवार देशभरका मल्टीप्लेक्स र सिंगल थिएटरमा फिल्म हाउसफुल थियो । शनिवार सार्वजनिक विदा भएकाले शुक्रवारको तुलनामा व्यापार केही माथि छ । काठमाडौं र मोफसलको व्यापारमा पनि खासै ठूलो अन्तर छैन ।’

‘कबड्डी ४’ले प्रदर्शनको पहिलो हप्तामा १० करोडको आँकडा पार गर्ने वितरक राठीको आँकलन छ । माउथ पब्लिसिटी बलियो भएकाले आइतवार पनि देशभर फिल्म हेर्ने दर्शकको संख्या उल्लेख्य रहेको उनले बताए । ब्रान्ड फिल्मको सिरिज, बलियो स्टारकास्ट, गतिलो प्रचार, ट्रेलर र गीतले बढाएको हाइपले गर्दा फिल्मले इनिसियल व्यापारमा रेकर्ड बनाएको उनको विश्लेषण छ ।

‘कबड्डी ४’को सफलताले सबैभन्दा बढी फाइदा दयाहाङ राई, सौगात मल्ल र मिरुना मगरलाई भएको छ । उनीहरु अभिनीत पछिल्ला कुनै फिल्म बक्सअफिसमा सफल छैनन् । यो फिल्मले उनीहरुको करिअरलाई नै ठूलो राहत दिएको छ । मिरुनाले त पहिलो पटक सफलताको सुःख प्राप्त गरेकी हुन् । फिल्ममा उनको स्वभाविक अभिनयलाई दर्शक र समीक्षकले रुचाएका छन् ।

नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाई गर्ने फिल्मको रेकर्ड दीपकराज गिरी र दीपाश्री निरौला समुहको ‘छक्का पञ्जा’ सिरिजले बनाएको छ । यसका तीनवटै सिरिजको लाइफटाइम कलेक्सन १६ करोड आसपास छ । अब यो रेकर्ड तोड्नु पर्ने चुनौती ‘कबड्डी ४’माथि छ । दुई दिने व्यापार हेर्दा फिल्मले ‘छक्का पञ्जा’ सिरिजको रेकर्ड दोस्रो हप्ताभित्र तोड्ने आँकलन गर्न सकिन्छ ।

अघिल्ला तीन सिरिज झैं यसपटक पनि वीरकाजी (दयाहाङ राई) कै बिहेको रस्साकस्सीमा फिल्म घुमेको छ । रामबाबु गुरुङ निर्देशित फिल्ममा बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, स्वर्गीय जयनन्द लामा, प्रकाश घिमिरे, कमलमणी नेपाललगायतको पनि अभिनय छ । फिल्मको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् ।