आज्ञा सम्वाददाता
धनुषा
गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएयता मधेस प्रदेशमा नेकपा (माओवादी केन्द्र) पाँचौँ शक्तिका रूपमा सीमित भएको छ ।
सम्पन्न निर्वाचनमा प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले) ठूलो शक्ति बनेका छन् । वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा मधेस प्रदेशको १९ स्थानीय तह जितेको माओवादी केन्द्रले यसपालि १० वटा स्थानीय तह गुमाए संगै माओवादी केन्द्रले मधेस प्रदेशमा आफ्नो पकड समेत गुमाएको हो ।
माओवादीले मधेस प्रदेशका आठ जिल्लामध्ये महोत्तरी र पर्सामा खाता समेत खोल्न सकेन । जबकि, अघिल्लो निर्वाचनमा सो पार्टीले महोत्तरीको गौशाला, बर्दिबास, रामगोपालपुर नगरपालिकासहित साम्सी गाउँपालिका र पर्साको छिपहरमाई तथा ठोरी नगरपालिकाको प्रमुख र उपप्रमुख जितेको थियो ।
माओवादी केन्द्रले गत २०७४ मा प्रमुख र उपप्रमुख जितेको स्थानीय तहमध्ये दुईवटा पालिकामा मात्रै आफ्नो साख जोगाउन सकेको छ ।
माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा जितेकामध्ये सिरहाको मिर्चैया नगरपालिका र सर्लाहीको वाग्मती नगरपालिकामा मात्रै आफ्नो पुरानो साख जोगाउँदा बाँकी अन्य दलले खोसेका छन् । यसपालि ती १९ मध्ये दुई पालिकाको प्रमुख र उपप्रमुखमा मात्रै माओवादी केन्द्रका उमेदवार विजयी भएका छन् । तत्कालीन चुनावमा मधेस प्रदेशका १३६ पालिकामध्ये १९ पालिकाको प्रमुख र उपप्रमुख दुवै पद माओवादी केन्द्रले जितेको थियो ।
अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले दुवै पद जितेर आफ्नो गढ बनाएको मधेस प्रदेशका स्थानीय तहमा यसपालि एमाले, कांग्रेस र जनता समाजवादी पार्टीका उमेदवार विजयी भएका छन् । मधेस प्रदेशमा माओवादी केन्द्रबाट सबैभन्दा बढी सिट एमालेले खोसेको छ ।
यसअघि, स्थानीय तह निर्वाचनमा १७ पालिकामध्ये धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका, कर्जन्हा नगरपालिका, अर्नमा गाउँपालिका र औरही गाउँपालिकाको प्रमुख र उपप्रमुख जितेर माओवादी केन्द्रले सिरहामा आफ्नो गढ बनाएको थियो । तर, पाँच वर्षपछि भएको स्थानीय निर्वाचनमा त्यो साखलाई कायम राख्न सकेन र एउटा मिर्चैया नगरपालिकाको प्रमुख र उपप्रमुखले मात्र निरन्तरता पाउन सकेका छन् ।
अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेको कर्जन्हा, धनगढीमाई र गोलबजार नगरपालिकामा एमालेले जितेको छ भने औरही र अर्नमा गाउँपालिका जनता समाजवादी पार्टी ९जसपा०ले खोसेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा सप्तरीको एउटा पनि स्थानीय तहको प्रमुख वा उपप्रमुख जित्न नसकेको माओवादी केन्द्रले यसपालिको चुनावमा सप्तरीको खडक नगरपालिकाको प्रमुख र छिन्नमस्ता गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।
अघिल्लो स्थानीय तह निर्वाचनमा धनुषाको सहिदनगर नगरपालिका र विदेह नगरपालिकाको प्रमुख र उपप्रमुख जितेको माओवादी केन्द्रले अहिलेको स्थानीय तह निर्वाचनमा ती दुवै स्थानीय तह गुमाएको छ । यी स्थानीय तहमध्ये सहिदनगर नगरपालिका जसपा र विदेह नगरपालिका नेकपा ९एकीकृत समाजवादी०ले माओवादीबाट खोसेको छ । धनुषाको सबैला नगरपालिकामा प्रमुख र उपप्रमुख जितेर माओवादीले आफ्नो अस्तित्व जोगाएको छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा सर्लाहीको वाग्मती नगरपालिका, बरहथवा नगरपालिका र चक्रघाटा गाउँपालिकामा जितेको माओवादी केन्द्रले वाग्मती नगरपालिकामा आफ्नो पुरानो साख जोगाउँदा बरहथवा र चक्रघट्टा गाउँपालिका गुमाएको छ । तर, सर्लाहीको हरिवन नगरपालिका, बलरा गाउँपालिकामा माओवादीले जित हासिल गरेर सर्लाहीमा जितेको स्थानीय तहको संख्या चार पु¥याएको छ ।
अघिल्लो स्थानीय तह निर्वाचनमा रौतहटको मौलापुर, यमुनामाई, कटहरिया माधवनारायणमा जित हासिल गरेको माओवादी केन्द्रले यसपालिको निर्वाचनमा ती सबै पालिका गुमाउँदा दुर्गाभगवती गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष मात्र जित्न सकेको रौतहटका माओवादी नेता जितेन्द्र श्रीवास्तवले जानकारी दिए ।
मधेस प्रदेशका तीन उपमहानगरपालिकामध्ये दुईवटा उपमहानगरपालिकासहित १६ स्थानीय तह रहेको बारामा पनि माओवादी कमजोर देखिएको छ । अघिल्लो निर्वाचनमा बाराको एउटा पनि स्थानीय तह जित्न नसकेकोे माओवादीले यसपालिको निर्वाचनमा भने बाराको सिमरा उपमहानगरपालिकाको प्रमुख जितेको छ । पाँचदलीय गठबन्धनको भागमा परेपछि सिमरा उपमहानगरपालिकाको प्रमुख माओवादीले जित्दा उपप्रमुख कांग्रेसले जितेको छ ।
यी परिणामले पनि अघिल्लो चुनावमा भन्दा अहिलेको चुनावमा मधेसका जिल्लामा माओवादी केन्द्र कमजोर भएको पुष्टि गरेको छ । यसरी माओवादी कमजोर हुनुका पछाडि विभिन्न कारण भए पनि मुख्य कारण पार्टीभित्रको आन्तरिक द्वन्द्व र पार्टी संगठन सुदृढीकरणमा नेता–कार्यकर्ताको ध्यान नपुग्नु नै रहेको विश्लेषकहरूको भनाइ छ ।





































