रौतहटको गुजरा नगरपालिकामा स्थानीयले मतगणनास्थलको गेट तोडफोड,,प्रहरीद्वारा अश्रुग्यास प्रहार

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
रौतहट
रौतहटको गुजरा नगरपालिकामा स्थानीयले मतगणनास्थलको गेट तोडफोड गरेका छन् ।
मतपरिणामको विषयलाई लिएर विवाद बढेपछि उनीहरूले भित्र प्रवेश गर्ने प्रयास गरी ढुंगामुडा गर्दै भित्र प्रवेश गर्न खोज्दा तनाव सिर्जना भएको छ। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्कीले दुई राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।
नगरपालिकामा कर्मचारीले मतपरिणाम सार्वजनिक गर्दा पटकपटक त्रुटी गरेको भन्दै उम्मेदवारका समर्थकले मतगणना स्थलमा ढुंगामुडा गरेका हुन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरीको थप मद्दत टोलीसमेत यस क्षेत्रमा पुगेको छ ।

अहिले मतदानस्थल बाहिरको अवस्था तनावपूर्ण छ । मतपरिणाम नै गलत सुनाएपछि मतगणना दिउँसोबाट रोकिएको छ । अन्तिम चरणमा पुगेको मतगणना निर्वाचन अधिकृत बद्रीनारायण शर्माका कारणले रोकिएको मतगणनामा खटिएका एक कर्मचारी बताउँछन् ।
’गणना भएको मतसंख्या लेख्ने क्रममा त्रुटी भएको थियो । पछि सच्याइएको छ,’ ती कर्मचारीले बताए । परिणाम गलत आउन थालेपछि मतगणनास्थल बाहिर बसेका उम्मेदवारका समर्थकले नाराबाजी गरेका थिए । त्यसपछि ढुंगामुडा गर्दै मतगणनास्थलको मुख्य ढोका फोरेर भित्र प्रवेश गर्न लागेका हुन् ।
रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले मतपरिणाम गलत लेख्ने कर्मचारीलाई हटाइएको बताएका छन् । ‘मैले तथ्यांक राख्ने कर्मचारीलाई हटाएर अर्को राख्न भनिसकेको छु,’ उनले भने, ‘बाहिर केही विवाद र नाराबाजी गरे पनि भित्रको अवस्था शान्त छ । अहिले सेना र थप प्रहरी त्यहाँ पुगेको छ ।’

नगरप्रमुख पदका उम्मेदवार जसपाका शन्तलाल चौधरीको छाता छाप र वडा नम्बर ५ का स्वतन्त्र उम्मेदवार शेख जमालुद्धिनले पाएको मत परिणाम गलत सुनाएपछि विवाद बढेको हो । अहिले कांग्रेस, एमाले र एकीकृत समाजवादी लगायत दलहरुले पुनः मतगणनाको माग अघि सारेका छन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...