आज्ञा खबर
तीन दिन अगाडि बर्दिबास नगरपालिका–८ को मतपेटिका नखोल्दै मतपरिणाम घोषणा गरिएको भेटिएको छ। मतपरिणाममा निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले बर्दिबास नगरपालिका–८ का माओवादी केन्द्रबाट चुनाब लडे्का शमशेरसिंह लामा विजयी भएको घोषणा गरेका थिए।
मतगणनामा धाँधली भएको एमालेले आरोप लगाइरहेका वेला सिल नै नतोडिएको मतपेटिका भेटिएपछि निर्वाचन आयोगमाथि नै प्रश्न खडा भएको छ। निर्वाचन अधिकृत सापकोटाले गरेको घोषणाअनुसार माओवादी केन्द्रबाट लामाले आठ मतले उछिन्दै एमालेका रुद्र किङरिङलाई पराजित गरेका थिए।
यता निर्वाचन अधिकृतको कार्यालय बर्दिबासले भने स्टोरमा राख्ने क्रममा त्रुटि भएको जनाएको छ । ञवडा न.८ को मतपेटिका मतदान अधिकृतले दिएको जानकारीअनुसार नै रुजु गरियो र सबै मतपेटिका एकै ठाउँमा राखेका थियौ,सहायक निर्वाचन अधिकृत सर्मिला तामाङले भनिन्। उनका अनुसार सर्वदलीय बैठक राखेर यसको समाधान खोजिने छ।
फूलमाला र अविरसहित विजय जुलुस मनाइसकेको माओवादी भने निर्वाचन आयोगको त्रुटिलाई स्विकार्ने अवस्थामा छैन। माओवादी केन्द्र प्रदेश कमिटी सदस्य राजन ढुंगनाले भेटिएको मतमेटिकालाई खोलेर पुनः मतगणना गर्नु कुनै अर्थ नरहेको बताए। निर्वाचन आयोगले माओवादी केन्द्रका शमशेरसिंह विजयी भएको घोषणा गरेसँगै निर्वाचन आयोगले समेत त्यसलाई प्रमाणीकरण गरिसकेको छ अनि मतपेटिका खोलेर मतगणना गर्नुको के नै अर्थ रहयो र ? ढुंगानाले प्रतिप्रश्न गरे।
निर्वाचन अधिकृतको कार्यालय बर्दिबासले भने मानवीय भूललाई स्वीकार गरेर समाधानको निकास निकाल्नेमा आफू विश्वस्त रहेको जनाएको छ। बर्दिबास नगरपालिकाको अन्तिम मतपरिणाम आउन बाँकी नै छ। वडा नम्बर ९ को मतगणना सकिएपछि अन्तिम मतपरिणाम सार्वजनिक हुने पर्खाइमा बसेका सर्वसाधारण वडा नम्बर ८ विवाद नसुल्झिएसम्म प्रतीक्षामा रहनुपर्ने देखिएको छ।
निर्वाचन आयोगले घोषणा गरेको वडा नम्बर ८ को मतपरिणामअनुसार माओवादी केन्द्रका शमशेरसिंह लामाले ७५३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रुद्र किङरिङले ७४४ मत प्राप्त गरेका छन्। नखोलिएको मतपेटिकामा अझै ८० देखि ८५ मतपत्र हुनसक्ने आसंका गरिएको छ। एमालेले भने सिल नतोडिएको मतपेटिका भए बाँकी मतगणना गर्नुपर्ने माग अघि सारेको छ।





































