चियाले भित्र्यायो विदेशी मुद्रा

[sharethis-inline-buttons]

काठमाण्डौँ-

नेपालमा १६ हजार ९ सय १७ हेक्टर जमिनमा चिया खेती गरिएको छ  । बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले पछिल्लो एक वर्षको अवधिमा चिया निर्यात गरेर दोब्बर विदेशी मुद्रा नेपालमा भित्र्याउन सफल भएको दावी गरे ।

बोर्डले यस वर्षको चिया दिवसको नारा ‘गुणस्तरीय चिया उत्पादन र सुनिश्चित बजार : चियाको निर्यात आर्थिक समृद्धिको आधार’ भन्ने तय गरेको छ । कार्यकारी निर्देशक भट्टराईले चियामा लगानी बढाउन सकिए त्यसलाई मुलुकको आर्थिक समृद्धिको आधार बनाउन सकिने बताए । बोर्डले हरेक वर्षको १५ वैशाखमा राष्ट्रिय चिया दिवस मनाउँदै आएको छ ।

नेपालमा १६ हजार भन्दा बढी चिया कृषक र ६० हजार यसका श्रमिकहरु संलग्न रहेको बोर्डको भनाइ छ ।भारतलगायत अन्य तेश्रो मुलुकहरूमा समेत नेपाली चिया निर्यात भइरहेको छ । गत आ.व. २०७६/०७७ मा २ अर्ब ७८ करोड रुपैयाँ बराबरको १ लाख १ हजार १ सय ८५ मेट्रिक टन चिया निर्यात भएकोमा गत आर्थिक वर्ष २०७७/०७८ मा ३ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ बराबरको १ लाख १ हजार ९ सय २० मेट्रिक टन चिया निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

तत्कालिन बडाहाकिम गजराज सिंह थापाले वि.स. १९२० मा इलाममा चिया रोपण गरेपछि नेपालमा चिया खेती सुरुवात भएको हो । तत्कालिन राजा विरेन्द्रले वि.सं. २०३९ मा झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लाहरुलाई चिया क्षेत्रको रूपमा घोषणा गरेपछि सरकारी स्तरबाट व्यवसायिक चिया खेतीको प्रवद्र्धन भएको पाइन्छ ।नेपालमा चिया तथा कफी क्षेत्रको योजनावद्ध विकास गर्न नेपाल सरकारले राष्ट्रिय चिया तथा कफी विकासबोर्ड ऐन, २०४९ अन्तर्गत छुट्टै बोर्डस्थापना गरे पश्चात साना किसानको स्तरमा चिया खेतीले व्यापकता पाएको हो ।