काठमाडौं–
कोरोना भाइरस संक्रमण फैलिने जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ। खास गरेर छिमेकी देश भारतमा दैनिक कोरोना संक्रमण पुष्टि हुने दर बढेकाले त्यसको असर नेपालमा पनि देखापर्ने मन्त्रालयले जनाएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढिरहेकाले नेपालमा पनि त्यसको असर देखिने बताए। भारतबाट नेपाल आउने व्यक्तिमार्फत् पनि संक्रमण फैलिन सक्ने भएकाले सावधानी अपनाउनु जरुरी भएको सहप्रवक्ता अधिकारीको भनाइ छ।
कोरोना संक्रमितको संख्या बढ्नसक्ने भएकाले त्यसअनुसारको तयारी गर्न भन्दै मातहतका अस्पताल र स्वास्थ्यसंस्थालाई मन्त्रालयले निर्देशन दिइसकेको अधिकारीको भनाइ छ।कोरोना भाइरसको तेस्रो लहरपछि संक्रमण दर घटेकाले आम सर्वसाधारणले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न छाडेकाले संक्रमण फैलिने जोखिम बढी देखिएको अधिकारीले बताए।
सहप्रवक्ता अधिकारीले अहिले भारतमा फैलिएको कोरोना ओमिक्रोनकै एउटा प्रजाती रहको प्रारम्भिक तथ्य फेला परेको बताए। यद्यपि यस विषयमा अध्ययन अनुसन्धान भइरहेकोले थप विवरण आउन समय लाग्ने उनको भनाइ छ।देश अहिले स्थानीय निर्वाचनमा होमिएको अवस्थामा कोरोनाको संक्रमण झनै बढ्ने जोखिम रहेको अधिकारी बताउँछन्। चुनावसँग सम्बन्धित गतिविधिबाट बढ्नसक्ने संक्रमणको जोखिमलाई कम गर्न निर्वाचन आयोगसँग छलफल गरेर स्वास्थ्यका सावधानीहरु अपनाउन आग्रह गरिएको उनले बताए।