काठमाडाैँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखेर चुनावी प्रचारप्रसार सामग्री बनाएकाे छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काे आधिकारिक र प्रमाणित फेसबूक पेजबाट सार्वजनिक गरिएकाे प्रचारप्रसार सामग्रीमा निर्देशक घिसिङसँगै अध्यक्ष प्रचण्ड र पूर्वऊर्जामन्त्रीसमेत रहेका बहालवाला अर्थमन्त्री जनार्दनकाे तस्बिर राखिएकाे छ ।
सार्वजनिक गरिएकाे उक्त तस्बिरलाई लिएर आलाेचनासमेत शुरू भएकाे छ । धेरैले गैरराजनीतिक व्यक्तिकाे तस्बिर कुनै पनि पार्टीकाे चुनावी प्रचारप्रसार सामग्रीमा प्रयाेग हुन नहुने तर्क गरेका छन् । हुन पनि कुलमान अहिलेसम्म विशुद्ध प्राधिकरणकाे कार्यकारी निर्देशक मात्रै हुन् । भलै उनी माओवादी केन्द्रकाे सिफारिसबाट प्राधिकरणमा पुगेका हाेलान्, तर यसरी चुनावी प्रचारप्रसार सामग्रीमा सार्वजनिक पद धारण गरेका व्यक्तिकाे तस्बिर राख्नु गैरजिम्मेवार गतिविधि भएकाे भन्दै आलाेचना तीव्र भइरहेकाे छ ।
माओवादी केन्द्रकाे चुनाव चिह्न गाेलाकारभित्र हँसिया हथाैडाभन्दा मुनि ह्यासट्यागसँगै ‘भाेट फर सीपीएन माओईस्ट’ लेखिएकाे छ । यसले याे माओवादी केन्द्रकाे प्रचारप्रसार सामग्री नै हाे भन्ने कुराकाे परपुष्टि गर्छ । ‘अँध्याराेबाट उज्यालाेतिर यात्रा’ भनेर ट्यागलाइन लेखिएकाे सामग्रीमा बहालवाला ऊर्जामन्त्री पम्फा भुसाल ‘विद्युत्’ भने अटेकी छैनन् ।
कुलमान भन्छन्- ‘मेराे विमति छ’
कुलमानले भने आफ्नाे विमति रहेकाे बताएका छन् । संक्षिप्त प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘यसमा मेराे विमति छ, मैले नराख्न भनेकाे थिएँ । उहाँहरूले राख्नुभएकाे रहेछ । यसमा मेराे विमति छ ।’
देव गुरुङ भन्छन्- ‘सच्याउनुपर्ला’
उक्त प्रचारप्रसार सामग्रीबारे मकालुखबरले राखेकाे जिज्ञासामा माओवादी केन्द्रका प्रमुख सचेतकसमेत रहेका नेता देवप्रसाद गुरुङले भनेका छन्, ‘सच्याउनुपर्ला ।’ सार्वजनिक पद धारण गरेकाे व्यक्तिकाे तस्बिर प्रचारप्रसार सामग्रीमा राख्न ‘नमिल्ला कि’ भन्ने आशयबाट उनले थपे, ‘हामीलाई कहिलेकाहीँ तपाईंहरूजस्ताकाे सुझाव र पृष्ठपाेषण पनि चाहिन्छ क्या । हाम्राे प्रचारप्रसार समितिमा पनि काे काे हुनुहुन्छ थाहा छैन, सच्याउनुपर्ला यसलाई ।’
राम्राे काम गरेकाेले प्रचारप्रसार गर्नु अलग कुरा रहेकाे भएपनि चुनावी प्रचारप्रसार सामग्रीमा सार्वजनिक पद धारण गरेकाे व्यक्तिकाे तस्बिर राख्न नमिल्ने गुरुङकाे तर्क छ, भन्छन्— ‘राम्राे काम त उहाँले गर्नुभएकै हाे पनि । यसरी प्रचारप्रसार हुनु ठूलाे कुरा रहेन । तर, त्याे माओवादी केन्द्रकाे चुनावी प्रचारप्रसार सामग्री नै भएचाहिँ गाह्रै पर्ला । यसबारे थप बुझ्छु ।’
यसबारे बुझ्न खाेज्दा प्रचण्ड सचिवालयले भने ‘रेस्पाेन्स’ गरेन । सचिवालयका एक सदस्यलाई गरिएकाे फाेनसमेत काटियाे । उनले ‘मलाई टेक्ट्स गर्नू’ भनेर सन्देश पठाएकाे भएपनि टेक्ट्सकाे जवाफ आएन । मकालु खबरबाट साभार